२०८२ फागुन २३ शनिवार , ०४:२१:३६ बजे

Sajhamanch
'

पहिलो स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी

शनिवार, फागुन २३, २०८२

म्याग्दी । म्याग्दी जिल्ला निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार महावीर पुन २२ हजार ८५० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मतमात्र प्राप्त गरे ।

निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका उनी शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रुपमा पहल गर्ने मुद्दा अघि सार्दै चुनावमा लड्न आएका हुन् । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको ब्यवस्था मिलाउने नीति बनाउने उनले प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।

नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे । म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो ।

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने मिति आउन दुई दिन बाँकी हुँदासम्म ७१ वर्षका महावीर पुनले चुनाव उठ्ने सोच बनाएका रहेनछन्। माघ ४ गते निर्वाचन आयोगसँग प्रधानमन्त्री र मन्त्रीहरूको संयुक्त बैठक बस्यो। आयोगका पदाधिकारीहरूले निर्वाचन आचारसंहिता लागू भएपछि के(के गर्न पाइँदैन भन्ने ‘ब्रिफिङ’ गरे।

चुनावी सरकार नै भए पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनलाई शिक्षा सम्बन्धी कानुन बनाउन सकिन्छ भन्ने लागेको रहेछ। तर भनेजसरी काम गर्न नपाएको भन्दै उनले म्याग्दी पुगेर उम्मेदवारी दिए।

२०११ सालमा म्याग्दीमा जन्मिएका पुनले १३ वर्ष शिक्षण पेसा अँगाले। पढाउन छाडेर अमेरिका पढ्न गए। युनिभर्सिटी अफ नेब्रास्का कर्नीबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरे।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण बस्तीहरूमा ताररहित इन्टरनेट सञ्जाल विस्तार गरेको दुई दशक भइसकेको छ। त्यतिबेला सुगम भनिने कतिपय सहरवासीले समेत इन्टरनेट सुविधा पाएका थिएनन्। विज्ञान र प्रविधि क्षेत्रमा योगदान पुर्‍याएबापत पुनले सन् २००७ मा प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरे।

सम्बन्धित खबर