२०८२ फागुन १८ सोमवार , ०४:५०:५७ बजे

Sajhamanch
'

इरान द्वन्द्व बढ्दै जाँदा लेबनानमा इजरायल र हिजबुल्लाहबीच गोली हानाहान, ३१ जनाको ज्यान गयो

सोमवार, फागुन १८, २०८२

झापा । लेबनानमा इजरायल र इरान समर्थित विद्रोही समूह हिजबुल्लाहबीच गोली हानाहान भएको छ । बेरुत र दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा ३१ जनाको ज्यान गएको र १४९ जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि इजरायलले लेबनानका ५० भन्दा धेरै शहर र गाउँका बासिन्दाहरूलाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर खाली गर्न चेतावनी दिएको थियो ।

इजरायली सेनाले हिजबुल्लाहले गरेको मिसाइल र ड्रोन प्रहारको जवाफमा लेबनानमा उसका निशानाहरूमाथि आक्रमण गरिरहेको बताएको छ ।

इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि त्यसको बदला भन्दै आइतवार हिजबुल्लाहले लेबननबाट इजराइलको उत्तरी क्षेत्रमा आक्रमण गरेको हो ।

यसैबीच इजरायल–अमेरिका र इरानबीचको युद्ध तेस्रो दिनमा प्रवेश गरेको छ र सबै पक्षबाट ठूलो मात्रामा हवाई आक्रमण भएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भिडियो सम्बोधनमा आफ्ना सबै उद्देश्य पूरा नभएसम्म इरानविरुद्ध सैन्य कारबाही जारी रहने बताउनुभएको छ ।

बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले इरानविरुद्धको आक्रमणमा अमेरिकालाई आफ्नो भूमि प्रयोग गर्न अनुमति दिने तर अहिले आक्रामक कारबाहीमा सामेल नहुने बताउनुभएको छ ।

आज बिहान एशियामा बजार खुलेसँगै विश्वव्यापी रूपमा तेलको मूल्यवृद्धि भएको छ ।

सम्बन्धित खबर