२०८२ फागुन १८ सोमवार , ०८:२५:३० बजे

Sajhamanch
'

आईजीपी कार्कीका १०० दिन : रासन स्केलमा वृद्धि, कार्यसम्पादनमा कडाइ

सोमवार, फागुन १८, २०८२

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा दान बहादुर कार्की नियुक्त भएको १०० दिन पूरा भएको छ । कार्की कात्तिक २७ गते आईजीपी नियुक्त भएका थिए ।

आईजीपी नियुक्त भएपछि कार्कीले नीतिगत स्पष्टता र प्रविधिमैत्री प्रहरी प्रशासनमा फड्को मार्ने प्रयास गरेका छन् । कार्कीको प्रयासमा मन्त्रिपरिषद्ले फागुन १ देखि लागू हुनेगरी प्रहरीको रासन स्केल बढाउने निर्णय गरेको छ । यसअघि अन्य सुरक्षा निकाय र प्रहरी कर्मचारीको रासनमा असमानता भएको भन्दै आलोचना हुने गरेको थियो । प्रहरीको रासन स्केलमा तीन आइटम थप गरिएको छ ।

आईजीपी कार्कीले ‘कार्यसम्पादन मूल्यांकन मार्गदर्शन’ कार्यान्वयनमा ल्याएका छन् । मार्गदर्शन लागू गरेर जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादन मापन गर्ने पद्धतिको सुरुवात गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेले बताए ।

प्रधान कार्यालयले जिल्ला इन्चार्जहरूलाई कार्यसम्पादनमा कडाइ गरेको छ । जुनियर तहका कर्मचारीहरूका लागि प्रहरी प्रधान कार्यालयले ‘आकस्मिक सहुलियत कर्जा’ प्रदान गर्न अनलाइन आवेदन प्रणाली सञ्चालनमा ल्याएको छ । त्यसबारे आईजीपी कार्कीले पदबहाली गर्दा कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका लागि सहुलियत कर्जा दिने निर्णय गरेका थिए ।

आईजीपी नियुक्त भएपछि ३२ उपलब्धि हासिल भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । यस अवधिमा नेपाल प्रहरीले जघन्य अपराधको अनुसन्धानमा शतप्रतिशत सफलताको नजिक पुगेको छ । १०० दिनमा भएका कर्तव्य ज्यानका १२३ घटनामा १८८ अभियुक्त र जबर्जस्ती करणीका ४७५ घटनामा ४४५ जना आरोपी पक्राउ परेका छन् ।

फैसला कार्यान्वयनतर्फ वर्षौँदेखि फरार रहेका ५ हजार ७८१ जना प्रतिवादी पक्राउ परेका छन् । जसबाट ३८ करोड ३६ लाखभन्दा बढी जरिवाना असुल भएको छ । यस्तै, लागूऔषध कारोबारमा २ हजार ४५५ जनालाई पक्राउ गरी प्रहरीले ठूलो परिमाणमा गाँजा, चरेस, हेरोइन र कोकिन बरामद गरेको छ । करिब ६० करोड रुपैयाँ बराबरको अवैध सामग्री र सुनचाँदी बरामद गरी राज्य कोषमा दाखिला गरेको छ ।

प्रविधि र आधुनिक अनुसन्धान

प्रहरीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले प्रहरी प्रधान कार्यालयमा एआई सेल स्थापना गरिएको छ । नागरिक सेवालाई सहज बनाउन ट्राफिक प्रहरीको वेबसाइटबाटै हराएका सवारी साधनको निवेदन दिन र अवस्था थाहा पाउन सकिने व्यवस्था गरिएको छ । देशभर ४५६ वटा अत्याधुनिक सीसीटीभी क्यामेराहरू जडान गरी निगरानी प्रणालीलाई सुदृढ बनाइएको छ ।

‘समुदाय–प्रहरी साझेदारी’ अन्तर्गत २७ हजारभन्दा बढी कार्यक्रममार्फत १२ लाख नागरिकलाई सचेतना प्रदान गरिएको छ । प्रहरीले पछिल्लो १०० दिनको अवधिमा ४ हजारभन्दा बढी हराएका व्यक्तिहरूलाई फेला पारेर परिवारको जिम्मा लगाएको छ ।

आईजीपी कार्कीले आफ्ना दिवंगत पिता कृष्णबहादुर कार्कीको स्मृतिमा गुल्मीको देवीस्थान माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

निर्वाचन सुरक्षा चुनौती

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई केन्द्रित गरेर सातवटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी गरिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कार्कीको नेतृत्वमा विशेष सुरक्षा योजना तर्जुमा गरिएको छ । एकीकृत सुरक्षा योजना अनुसार प्रहरी प्रधान कार्यालयले एआईजी उमा चतुर्वेदीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनबारे रणनीति तय गर्न विश्लेषण महाशाखा गठन गरिएको छ । महाशाखाको नेतृत्व एसएसपी दयानिधि ज्ञवालीले गरेका छन् । सो महाशाखाले चुनाव बिथोल्ने भूमिका खेल्ने समूहको निगरानी र उनीहरूको गतिविधि निस्तेज पार्ने रणनीति तय गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहित ६ वटा समूह अहिले निर्वाचन बिथोल्न सक्रिय रहेको प्रहरीको विश्लेषण छ ।

निर्वाचन सुरक्षा र रणनीति तय गर्न प्रहरी प्रधान कार्यालयले पूर्वप्रहरी अधिकारीहरूसँग छलफल र समन्वय गरेको थियो । प्रहरीको नेतृत्व सम्हालेको १०० दिनमा राम्रो सुरुवात गरे पनि कार्कीका लागि निर्वाचन सुरक्षा चुनौतीपूर्ण हुनेछ । तराईमा मंगलबार मनाउन लागिएको फागु पूर्णिमा (होली) र हिमालमा चिसोका कारण निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण हुनेछ ।

दुर्गा प्रसाईं, नेकपा (बहुमत) र मंगोल नेसनल अर्गनाइजेसनसहित ६ वटा समूहको अवरोध झेलेर शान्तिपूर्ण चुनाव सम्पन्न गर्नु कार्कीका लागि चुनौती हुने जानकारहरू बताउँछन् ।

सम्बन्धित खबर