
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वको तनावप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । आज देशवासीका नाममा सम्बोधन गर्ने क्रममा उहाँले इरान र त्यस वरपरको क्षेत्रमा गहिरिएको युद्धको सङ्कटप्रति सरकार गम्भीर रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री कार्कीले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको बताउँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो ।
कार्कीले रोजगारी तथा अन्य सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको अवस्थाप्रति सरकार चिन्तित रहेको बताउनुभयो ।
सङ्कटको यस घडीमा सरकार आफ्ना नागरिकको साथमा रहेको सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीहरू विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरूको व्यक्तिगत सुरक्षा र हितको रक्षा गर्न वर्तमान सरकार पूर्णरूपमा कटिबद्ध रहेको आश्वासन दिनुभएको छ ।
उहाँले विदेशमा रहेका नेपालीहरूलाई नआत्तिन र दूतावास तथा कूटनीतिक नियोगको सम्पर्कमा रहन पनि आग्रह गर्नुभयो ।


