
विराटनगर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षाको अन्तिम तयारी पूरा भएको छ ।
प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायले त्रिपक्षीय समन्वयसहितको विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचनका लागि १२ हजार नेपाल प्रहरी र २३ हजार म्यादी प्रहरी परिचालन हुने छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ३५ हजार जनशक्ति प्रत्यक्ष रूपमा निर्वाचनमा परिचालन गरिएको छ ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी बलका तर्फबाट पनि ८ हजारभन्दा बढी जनशक्ति खटिएका छन् । प्रदेशमा रहेका ३५ लाख ७४ हजार २८६ मतदाता रहेका छन् । प्रदेशमा ४ हजार २७० मतदान केन्द्र रहेका छन् । ती मतदान केन्द्रको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।
सुरक्षा समितिको बैठकले प्रदेशका १ हजार ९०७ मतदान स्थलमध्ये ४३९ स्थानलाई अति संवेदनशील सूचीमा राखेको छ । प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डी आइजी विनोद घिमिरेले घिमिरेले सानातिना घटनालाई पनि गम्भीरतापूर्वक लिएर तत्काल ‘रेस्पोन्स’ गर्ने गरी मोबाइल टोली र रिजर्भ फोर्सलाई तयारी अवस्थामा राखिएको बताए । उनले भने समग्रमा सुरक्षा अवस्था सन्तोषजनक रहेको छ । मतदाताले ढुक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित भएको छ ।
प्रहरीले झापा-५ का लागि भने विशेष रणनीति बनाएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बिच प्रतिस्पर्धा भइरहेको झापा क्षेत्र नं ५ लाई ‘हाई-प्रोफाइल’ संवेदनशीलतामा राखेको छ । मनोनयनका क्रममा भएको झडपलाई मध्यनजर गर्दै त्यहाँ थप १०० जनाको विशेष टोली परिचालन गरिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले भने “झापा-५ मा राष्ट्रिय-अन्तर्राष्ट्रिय ध्यान रहेकाले हामीले विशेष सतर्कता अपनाएका छौँ । त्यहाँको स्थिति अहिले पूर्ण नियन्त्रणमा छ ।”
झापा-५ लाई हेर्ने गरी प्रहरी उपरीक्षक एसपीको टोली परिचालन गरिएको छ।
डिजिटल चुनौती रोक्न ‘साइबर डेस्क’
यस पटकको निर्वाचनमा भौतिक मुठभेडभन्दा पनि सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहलाई प्रहरीले मुख्य चुनौतीका रूपमा लिएको छ । अफवाह र डिजिटल मुठभेड रोक्न प्रदेश स्तरमै ‘साइबर डेस्क’ स्थापना गरी निगरानी बढाइएको छ । सामाजिक सञ्जाल र इन्टरनेटका माध्यमबाट हुन सक्ने घटनालाई नियन्त्रणमा लिन जिल्ला तह सम्म प्रहरीले ‘साइबर डेस्क’ बनाएर अध्ययन गरिरहेको छ ।
डीआईजी घिमिरेले भने, “सामाजिक सञ्जालमार्फत एक छिनमा माहौल बिगार्ने प्रयास हुन सक्छ, त्यसैले हामीले डिजिटल गतिविधिमाथि सूक्ष्म निगरानी गरिरहेका छौँ ।”
सङ्खुवासभा, सोलुखुम्बु र ताप्लेजुङ जस्ता हिमाली जिल्लामा हिमपात र सञ्चार अवरोध हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै स्याटलाइट फोनको व्यवस्था गरिएको छ । दुर्गम क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको छ ।
यस्तै, भारतसँगको ४२७ किलोमिटर र चीनसँगको २५८ किलोमिटर सीमा क्षेत्रमा सुरक्षा कडा पारिएको छ । सीमावर्ती जिल्लाहरू झापा, मोरङ र सुनसरीमा भारतीय सुरक्षा निकायसँग काउन्टर-पार्ट बैठक सम्पन्न गरी संयुक्त गस्ती र निगरानी बढाइएको छ ।


