२०८२ फागुन १८ सोमवार , ०७:४३:३९ बजे

Sajhamanch
'

संविधानपछिको चखिलो चुनाव

सोमवार, फागुन १८, २०८२

काठमाडौं । आज राति १२ बजेदेखि चुनावको मौन अवधि शुरु हुँदैछ । अथवा सामाजिक सञ्जालको प्रदूषण र उम्मेदवारको घरदैलो, सभा र र्यालीको चुनावी कोलाहल शान्त हुँदैछ । निर्णय मतदाताको मौनतामा परिणत हुनेछ अब भोट नखस्दासम्म ।

संविधान जारी भएपछि यो प्रतिनिधिसभाको तेस्रो चुनाव हो, तर पार्टीहरु को कति पानीमा छन् भनेर जाँच्ने चाहिँ पहिलो । संविधान जारी भएपछि २०७४ को चुनावमा एमाले र माओवादी वाम गठबन्धन बनाएर चुनावमा होमिएका थिए । दोस्रो पटक २०७९ मा भएको चुनावमा नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनाव अघि गठबन्धन गरेर मिलिजुली चुनाव लडे ।

दुवै चुनावमा गठबन्धन भएकाले संविधान बनेपछि आफ्नै शक्ति कति छ भन्ने न दलले थाहा पाए, न मतदाताले दल रोज्न पाए । नागरिकको मत कति पार्टीको एजेन्डामा पर्‍याे र कति गठबन्धनको अङ्कगणितमा भन्ने आजसम्म स्पष्ट छैन । योपालि दलहरू एक्लाएक्लै मैदानमा छन् । त्यसैले यो चुनावले कुन पार्टी कति पानीमा छ भनेर जानकारी मात्र दिने छैन, चुनावको नतिजापछि आउने राजनीतिक तस्वीर पनि भिन्न र फरक हुने स्पष्ट छ ।

गठबन्धन नभएकाले योपालि मत विभाजन तीव्र हुनेछ । स्थानीय समीकरण, व्यक्तिको प्रभाव, क्षेत्रीय मुद्दा र युवा असन्तुष्टि—सबैले परिणामलाई प्रभाव पार्नेछन् । त्यसैले मतगणनाको अन्तसम्मै अनपेक्षित परिणाम सुन्न मतदाताले कान ठाडा पारेर बस्दा रमाईलै हुनेछ योपालि ।

सबैका कान झापा–५ का चुनावी गतिविधि सुन्न ठाडा भइरहेका छन् केही दिनदेखि । केपी शर्मा ओली र बालेन्द्र शाह पुरानो र नयाँ शक्तिका विम्व भएका छन् झापाको ५ नम्बरमा । अनुभव र सङ्गठन भएका ओली अनि परिवर्तन र युवाको चाहनाका बालेनको भिडन्तमा पुस्ताको लडाई प्रतिबिम्वित भएको छ । सधैं ओलीले जित्दै आएको झापा–५ मा ओली हारे पनि बालेन हारे पनि त्यहाँको नतिजा रसिलै हुनेछ योपालि ।

२०७९ मा उदाएको रास्वपाको लहर देखिन्छ शहर र सघन मतदाता भएका जिल्लामा । तर यो लहरमा १८ वर्ष नपुगेका र मतदाता सूचीमा नाम नभएका गैरमतदाताको सङ्ख्या उल्लेख्य देखिन्छ । त्यसैले रास्वपाको पक्षमा देखिएको लहर के कति मतमा रूपान्तरण हुन्छ, त्यो पनि चाखको बिषय हुनेछ योपालिको चुनावमा ।

यो चुनावमा अङ्कगणित मात्र हैन, मनोविज्ञान पनि हावी छ । पुरानो र नयाँको मनोविज्ञान । संविधानपछिका दुई चुनाव गठबन्धनको छायाँमा भए । यो तेस्रो चुनाव दलहरूको वास्तविक हैसियत नाप्ने अवसर हो । परिणाम बहुमतमा बदलिन्छ कि मिश्रित हुन्छ, पहिलेजस्तो आँकलन गर्न सजिलो छैन । जित्ने ठानेको उम्मेद्वारले हार्न र हार्छ भन्ठानेको उम्मेद्वारले जित्न सक्छ । जित र हारको निर्णय धेरै स्थानमा हजारभन्दा कम मतले हुनेछ योपालि ।

त्यसैले, आजदेखि शुरु हुने मौनताले धेरै ठूलो निर्णय गर्नेछ चुनावमा योपालि ।

सम्बन्धित खबर