२०८२ फागुन १७ आइतवार , १०:३९:४९ बजे

Sajhamanch
'

नेपालमा मिसाइलको धुँवा प्रवेश नगरोस : एमाले अध्यक्ष ओली

आइतवार, फागुन १७, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् भन्ने कामना गर्नुभएको छ । मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको उहाँको भनाई छ ।

मध्यपूर्वमा भएका लाखौं नेपालीहरु आपत र कोलाहलमा भएकोले उनीहरुका परिवार पलपल छट्पटाएर बस्नु परेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले ध्यक्ष ओलीले भन्नुभएको छ, ‘मध्यपूर्वी देशहरु माथि आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा परेको छैन । ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्, तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ ।’

अवसर छनौटका लागि खुला विश्वमा आज सबैजसो देशका नागरिक संसारैभरि आउनु जानु स्वभाविक भएको अध्यक्ष ओलीको भनाइ छ । ‘अस्वभाविक र खतरनाक कुरा त युद्ध र भूराजनीतिक चपेटा हो’ अध्यक्ष ओलीले लेख्नुभएको छ ‘ती देशहरु पनि पक्कै युद्ध चाहँदैन थिए । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।’

एमाले अध्यक्ष ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको भन्दै उहाँको प्रार्थना छ, ‘कुनै पनि आवरणमा त्यो आउन नसकोस् । आज तपाईंहरुलाई छटपटी भइरहँदा म निदाउन सकिन । बेचैन छु ।’

अध्यक्ष ओलीले सबैलाई सजगता र धैर्य रहन आह्वान गर्नुभएको छ । ‘यसबेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ । विवेक, धैर्य र साहसको कामना गर्दछु’ अध्यक्ष ओलीले लेख्नुभएको छ ।

सम्बन्धित खबर