२०८२ फागुन १५ शुक्रवार , ०६:५२:२९ बजे

Sajhamanch
'

झापा–५ मा ‘हाई अलर्ट’

शुक्रवार, फागुन १५, २०८२

झापा । एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बीचको प्रतिस्पर्धाका कारण चर्चित झापा–५ लाई सुरक्षा दृष्टिले ‘हाई अलर्ट’ मा राखिएको छ । राजनीतिक रूपमा मात्र होइन, सुरक्षा रणनीतिक हिसाबले पनि यो क्षेत्र प्रदेशकै सबैभन्दा संवेदनशील निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ ।

केन्द्रीय सुरक्षा समितिले नयाँ र पुराना राजनीतिक शक्तिबीच सम्भावित द्वन्द्वको जोखिम औँल्याएपछि गृह मन्त्रालयले विशेष सुरक्षा रणनीति लागू गरेको हो । उच्च संवेदनशीलताको मूल्यांकनपछि नेपाल प्रहरीले झापा–५ मा पाँच जना प्रहरी नायव उपरीक्षक (डीएसपी) परिचालन गरेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले जानकारी दिए । हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टा, बिर्तामोड, दमक र जिल्ला प्रहरी कार्यालयमा डीएसपीको दरबन्दी रहेको छ ।

आसन्न निर्वाचनलाई मध्यनजर गर्दै झापा–५ अन्तर्गतका गौरीगञ्ज, गौरादह र कमल गाउँपालिकालाई समेत डीएसपी नेतृत्वमा विशेष सुरक्षा घेराभित्र राखिएको छ । डीआईजी घिमिरेका अनुसार झापा–५ मा मात्रै दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जिल्लाभर निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई तीन गुणासम्म सुदृढ गरिएको बताइन् । उनका अनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पर्याप्त जनशक्ति तयारी अवस्थामा राखिएको छ । जिल्लामा थप एक जना एसपी परिचालन हुन सक्ने चर्चा समेत छ, जसले सुरक्षा संयन्त्र अझ मजबुत बन्ने अपेक्षा गरिएको छ ।

सुरक्षा स्रोतका अनुसार सम्भावित उक्साहट, शक्ति प्रदर्शन र जुलुसका कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

सम्बन्धित खबर