२०८२ फागुन १४ बिहिवार , ०५:२६:५४ बजे

Sajhamanch
'

निर्वाचन आचारसंहिता : सञ्चार माध्यमले मत सर्वेक्षण घोषणा गर्न नहुने

बिहिवार, फागुन १४, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु भएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म निर्वाचन आचारसंहिता लागु हुने छ ।

उहाँका अनुसार निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त, वातावरण कायम राख्न आवश्यक रहेकाले निर्वाचन आचारसंहिता लागु गरिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले उक्त आचारसंहिता बनाइएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद–७ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण उल्लेख छ ।

पक्ष वा विपक्षमा समाचार प्रकाशन गर्न नहुने

निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता लागु भएको अवधिमा कुनै राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन हुँदैन ।

निर्वाचन आचारसंहिता, २०८२ अनुसार सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न हुँदैन । जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबिचको सम्बन्ध र सद्भावमा खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्न हुँदैन ।

निःशुल्क विज्ञापन प्रसारण गर्न नहुने

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न हुँदैन ।

कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल, अनलाइन छापा जस्ता विद्युतीय माध्यममा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न पाइँदैन । त्यस्ता सामग्री सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, शेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ, स्ट्रिमिङ, ट्याग वा मेनसन लगायतका कार्य गर्न वा गराउन हुँदैन ।

मत सर्वेक्षण तथा घोषणा गर्न नहुने

निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद (त) अनुसार उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको घोषणा गर्न वा प्रकाशन गर्न हुँदैन । सूचनाको स्रोतको गोपनीयता भङ्ग गर्न नहुने, राजनीतिक दल वा उम्मेदवार तथा उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुराउने तथा गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न हुँदैन ।

मतदानको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम गर्न नहुने, निर्वाचनको बारेमा नकारात्मक सन्देश प्रवाह गर्ने लेख, तस्विर वा समाचार प्रकाशन वा प्रसारण गर्न हुँदैन ।

अपमानजनक सामग्री प्रकाशन गर्न नपाइने

निर्वाचन, राजनीतिक दल र उम्मेदवारलाई नकारात्मक असर पुग्ने गरी विदेशी सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्री पुनः प्रकाशन वा प्रसारण गर्न हुँदैन ।

निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, अपमान गर्ने, मिथ्या सूचना, द्वेषपूर्ण भाषण, टीकाटिप्पणी इन्टरनेट वा टेलिभिजनमा सम्प्रेषण गर्न हुँदैन । त्यस्तो टिकाटिप्पणी सम्प्रेषण भएमा इन्टरनेट सेवा प्रदायक वा केबल टेलिभिजन वितरकले त्यस्ता सूचना वा अभिव्यक्तिलाई हटाउनुपर्ने छ ।

सम्बन्धित खबर