
झापा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इन्स्टाग्राम खातामा फलोअर्स सङ्ख्या १० करोडभन्दा बढी पुगेको छ । बीबीसी हिन्दीका अनुसार मोदी इन्स्टाग्राममा यतिधेरै फलोअर्स भएका विश्वका पहिलो राजनीतिकर्मी बन्नुभएको छ ।
प्रधानमन्त्री मोदीले सन् २०१४ मा खोल्नुभएको इन्स्टाग्राम खाता सक्रिय र लोकप्रिय बनेको छ । मोदीले इन्स्टाग्राममा नियमित रूपमा सरकारी कार्यक्रम, विकास परियोजना, विदेश भ्रमण र व्यक्तिगत दिनचर्यासम्बन्धी सामग्री पोस्ट गर्ने गर्नुहुन्छ । जसले आम नागरिकसँग सिधा सम्पर्क राख्न सघाउँछ । इन्स्टाग्राम अहिले विश्वका राजनीतिक नेताहरूको प्रमुख सञ्चार माध्यम बन्दै गएको छ ।
नेताहरू सोझै आफ्ना समर्थकसम्म पुग्न यो प्लेटफर्मको व्यापक उपयोग गरिरहेका छन् । अमेरिका, युरोप र एशियाका धेरै नेताहरू आफ्ना नीति तथा कार्यक्रमको प्रचार–प्रसारका लागि इन्स्टाग्रामलाई प्रभावकारी माध्ययमका रूपमा प्रयोग गर्छन् ।
विशेष गरी युवा मतदातासम्म पुग्न यो माध्यम अत्यन्त उपयोगी मानिन्छ । चुनावी अभियानदेखि कूटनीतिक सन्देशसम्म, इन्स्टाग्रामले राजनीतिक विमर्शको स्वरूप नै बदलिदिएको छ ।
तस्वीर र छोटो भिडिओमा आधारित यस प्लेटफर्मले जटिल राजनीतिक सन्देशलाई सरल र आकर्षक ढङ्गले प्रस्तुत गर्न सकिने भएकाले नेताहरूमा यसको लोकप्रियता झन् बढ्दो छ ।


