२०८२ फागुन १४ बिहिवार , १२:०१:५२ बजे

Sajhamanch
'

मधेशमा रोकिएन आचारसंहिता उल्लंघन, झन्डाले झिलिमिली सार्वजनिक स्थल

बिहिवार, फागुन १४, २०८२

सिरहा । यही २१ फागुनको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले आह्वान गरे पनि मधेशमा भने आचारसंहिता उल्लंघन बढेको छ ।

आयोगले तडक–भडक, बाजा–गाजा तथा सार्वजनिक स्थानमा पार्टीका झन्डा झुन्ड्याउन नपाइने निर्देशन जारी गरेको छ । तर, आचारसंहिता उलंलघन भने रोकिएको छैन ।

आयोगको निर्देशनविपरीत सिरहाका विभिन्न स्थानमा पार्टीका झन्डा तथा प्रचार सामग्री खुला रूपमा झुन्ड्याइएको पाइएको छ ।

गोलबजार, चोहर्वा, नयाँ चौक चोहर्वा तथा नरहा–बिष्णुपुर लगायतका क्षेत्रमा सडक, चोक तथा अन्य सार्वजनिक स्थानमा दलका झन्डा राखिएको छ ।

स्थानीय रामउदगार साहले सरकार र आयोगले तडक–भडक नगर्न पत्राचार गरे पनि दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरूले त्यसको पालना नगरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

यसरी सम्बन्धित निकाय मौन बस्नुले विभिन्न तरिकाले मतदातालाई प्रभावित पार्न सक्ने खतरा हुने उहाँको भनाइ छ । उहाँले समयमै प्रभावकारी अनुगमन गरी रोक लगाउन माग गर्नुभयो ।

यता, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बाजासहित गाउँगाउँमा मत माग्ने र सार्वजनिक स्थानमा झन्डा झुन्ड्याउने विषयमा अनुगमन गरिने बताउनु भएको छ । ‘दलहरूले आफैं बुझ्नुपर्ने कुरा हो’, उहाँले भन्नुभयो ।

पत्राचार गर्दा पनि नमाने प्रहरी परिचालन गरी झन्डा हटाउने र बाजामा रोक लगाउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

सम्बन्धित खबर