
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा गरेको प्रादेशिक सभालाई लक्षित गर्दै सहकारीपीडित र एमसीसीबारे प्रश्न गर्नु भएको छ ।
उहाँले रास्वपा सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई सभामा सहकारी पीडितका बारे के बोल्नु भो भन्दै प्रश्न गर्नु भएको छ । सामाजिक सञ्जालमा लेख्दै साम्पाङले भन्नु भएको छ, ‘१४ जिल्लाका कार्यकर्ता उतारेको सभामा नो एमसिसी भन्ने हिम्मत भयो कि भएन ? ७४ लाख सहकारी पीडितहरूको बारेमा बोलियो कि नाइँ ?’
रास्वपाको सभाले सिंहदरबार जलाएको औचित्य पुष्टि गर्यो होला नि भन्दै प्रश्न गर्नु भएको छ। उहाँले लेख्नु भएको छ, ‘किसानलाई फोहोर भन्नेले मजदुरबारे के भन्यो ? सुकुम्वासीका बारेमा के गर्ने रे डोजरले ?’
इटहरीको सभामा रास्वपाका वरिष्ठ नेता बोलन्द्र शाहले धरानको खानेपानीको समस्या आफूहरू सरकारमा गएपछि समाधान हुने बताउनु भएको थियो ।
उहाँले सप्तकोशीको पानी लिफ्टिङ गरेर धरान लैजाने र त्यसका लागि ५ अर्ब रुपैयाँ खर्च लाग्ने बताउनु भएको थियो । उहाँले भन्नु भएको थियो, ‘अहिलेको सरकारले गर्यो कि गरेन जनप्रतिनिधिको पहुँच पुग्यो कि पुगेन ?’ रास्वपाले हिजो सुनसरीको इटहरीमा कोशी प्रदेशस्तरीय आमसभा गरेको थियो ।


