
झापा । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले घोषणा गरेको नयाँ १० प्रतिशत विश्वव्यापी भन्सार शुल्क लागू भएको छ ।
गएको शुक्रवार अमेरिकी सर्वोच्च अदालतले यसअघिको ठूलो दरको आयात शूल्कलाई अवैध ठहर गर्दै रोक लगाएपछि ट्रम्पले केही घण्टामै नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै नयाँ १० प्रतिशत शुल्क लागू गर्नुभएको थियो ।
ह्वाइट हाउसले सन् १९७४ को व्यापार ऐनको धारा १२२ अन्तर्गत १५० दिनसम्म कंग्रेसको स्वीकृतिबिना शुल्क लगाउन सकिने व्यवस्था प्रयोग गरेको बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले आवश्यकता परे १५ प्रतिशतसम्म भन्सार कर बढाउने चेतावनी पनि दिनुभएको छ तर अहिलेसम्म करको दर बढाउने औपचारिक निर्णय सार्वजनिक गरिएको छैन ।
पछिल्लो तथ्याङ्कअनुसार अमेरिकी व्यापार घाटा सन् २०२४ को तुलनामा २.१ प्रतिशतले बढेर झन्डै १.२ ट्रिलियन डलर पुगेको छ । यसअघि ट्रम्प प्रशासनले सन् १९७७ को अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन प्रयोग गर्दै कम्तीमा १३० अर्ब डलर बराबरको कर असुल गरिसकेको छ । तर सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकार नाघेको भन्दै त्यसलाई रोेकेको थियो ।
ट्रम्पले अदालतको निर्णयलाई अव्यवहारिक, कमजोर र अत्यन्तै राष्ट्रविरोधी भन्दै आलोचना गर्नुभएको छ । यसैबीच, अमेरिकाको निर्णयपछि विभिन्न देशहरूले आफ्ना व्यापार सम्झौताहरू पुनर्मूल्यांकन गरिरहेका छन् । नयाँ भन्सार करले विश्वव्यापी व्यापार र कूटनीतिक सम्बन्धमा थप तनाव सिर्जना गर्ने सङ्केत देखिएको विश्लेषण भइरहेको छ ।


