२०८२ फागुन १२ मङ्गलवार , ०४:५८:२७ बजे

Sajhamanch
'

मतदान हुनुभन्दा ७२ घण्टाअघि सीमानाका सिल गर्ने निर्णय

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भन्दाअघि सीमानाका सिल गर्ने निर्णय गरिएको छ ।

मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चिन तर्फको सीमाना मतदान हुनुभन्दा ७२ घण्टाअघि सिल गर्ने निर्णय गरेको हो ।

सीमानामा ७२ घण्टाअघि आवागमन बन्द गर्ने निर्णय गरिएको बैठकमा सहभागी निर्वाचन आयोगका एक जना उच्च अधिकृतले बताउनु भयो ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।

मतदानअघि मादक पदार्थ बेचबिखनमा रोक लगाउनेबारे पनि छलफल भएको छ । बैठकमा सहभागी एक जना अधिकृत भन्छन्, ‘मादक पदार्थ बिक्रीमा रोक लगाउनेबारे छलफल भएको छ, त्यसबारे आयोगबाट समय तोकेर विज्ञप्ति प्रकाशन गर्ने काम हुन्छ ।’

बैठकमा फागुन १९ मा परेको तराई को होली पर्व र जनकपुरमा हुने माध्यमिकी परिक्रमा मेलाबारे पनि छलफल भएको छ । भारतको सितमढीबाट हिँडेर बिसौँ हजार मानिस जनकपुरको जानकी मन्दिरमा आउने र फागुन १८ गते फिर्ता हुँदैछन् । सो परम्परा र होलीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भएको छ । बैठकमा सहभागी आयोगका एक जना अधिकृत भन्छन्, ‘मौन अवधिमा होली पर्व परेको हुनाले कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भएको छ ।’

भारतीय नम्बर प्लेटका सवारी साधनलाई रोक लगाउनेबारे पनि छलफल भएको छ । तर, मतदान हुनुभन्दा कत्ति दिनअघिदेखि विदेशी नम्बर प्लेटको सवारी चल्न नदिने भन्नेबारे निर्णय गर्ने अधिकार आयोगलाई दिइएको छ ।

हिमाली जिल्लमा हिँउ परिरहेको र त्यसबाट निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा कर्मचारीलाई लेक लाग्ने चुनौतीबारे छलफल भएको छ । बैठकमा सहभागी ती अधिकृत भन्छन्, ‘मतपेटिका सहितका निर्वाचन सामग्री कसरी हिमाली जिल्लामा लैजाने भन्ने विषयमा छलफल भएको छ ।’

सम्बन्धित खबर