२०८२ फागुन १२ मङ्गलवार , ०३:२०:३५ बजे

Sajhamanch
'

निकोलस मादुरोलाई तत्काल रिहा गर्न भेनेजुएलाको माग

मङ्गलवार, फागुन १२, २०८२

झापा । भेनेजुएलाका विदेशमन्त्री यभान गिलले अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी हिरासतबाट तत्काल रिहा गर्न माग गर्नुभएको छ ।

हिजो स्विट्जरल्यान्डको जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई सम्बोधन गर्दै विदेशमन्त्री गिलले मादुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेसलाई तत्काल रिहा गर्न माग गर्नुभएको समाचार संस्था अलजजीराले जनाएको छ ।

गिलले निकोलस मादुरोको अपहरणलाई ‘राजनीतिक अपरेशन’ का रूपमा वर्णन गर्दै भेनेजुएलाले आफ्नो मामिला आफैँ समाधान गर्नुपर्ने बताउनुभएको छ । उहाँले मानव अधिकारलाई युद्धको बहानाका रूपमा प्रयोग गर्न नहुने भन्ने कुरामा जोड दिनुभएको खबरमा उल्लेख छ ।

मादुरो दम्पती गएको जनवरी ३ देखि न्यूयोर्कको जेलमा छन् । गएको महिना अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेर मादुरोलाई पक्राउ गर्दै न्युयोर्क लगेको थियो । अमेरिकाले मादुरोलाई लागूऔषध कार्टेलको नेता भएको आरोप लगाउँदै आएको छ ।

अमेरिकाले मादुरोको ठाउँमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाएको छ । ‘सुरक्षित, उचित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म’ भेनेजुएलाको शासन सत्ता अमेरिकाले नै चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ छ ।

सम्बन्धित खबर