२०८२ फागुन १२ मङ्गलवार , ०७:२५:३५ बजे

Sajhamanch
'

८ वर्षमा १ लाख ६८ हजार सवारी दुर्घटना, १९ हजारभन्दा बढीको मृत्यु

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सोमबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित भैंसीगौंडामा सडकबाट दुई सय मिटर तल खस्दा १९ जनाको मृत्यु भएको छ । बसमा चालकसहित ४४ जना सवार थिए । ग२ख १४२१ नम्बरको बस राति साढे १ बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 गत २७ माघमा काठमाडौंबाट रामेछापको सिरिसे–ढाँडे हुँदै ओखलढुंगा जाँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्वअरनिको यातायात बस रामेछापको मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भयो । चालकसहित २० जनाको उद्धार गरियो । तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको बसमा कति यात्रु थिए अझै यकिन भइसकेको छैन ।

 गत २२ माघमा बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ को मृत्यु भयो । जिल्लाको पुर्चौडी नगरपालिका–७ स्थित भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कंदै गरेको बस बडगाउँ घुम्तीमा सडकबाट दुई सय मिटर तल खसेको थियो । पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस अत्यधिक भारका कारण प्रेसरपाइप फुटेर दुर्घटना भएको अनुमान छ ।

यी पछिल्ला ठूला दुर्घटना हुन् । सवारीचालकबीच हुने अस्वस्थ प्रतिस्पर्धा, सडकको दुरवस्था, लामो दूरीमा गुड्ने सवारीसाधनको राम्रो जाँच नगरिँदा र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुने गरेका छन् । प्रहरीका अनुसार ८ वर्षयता १ लाख ६८ हजार ६२३ सवारी दुर्घटनामा १९ हजार २६२ जनाले ज्यान गुमाएका छन् । यी दुर्घटनामा ४६ हजार ४७५ जना गम्भीर र १ लाख ७९ हजार ३९९ जना सामान्य घाइते भए ।

यस आर्थिक वर्षको माघसम्म १९ हजार ३ सय ५ दुर्घटनामा १ हजार ५४५ को ज्यान गएको छ । ४ हजार ८७१ गम्भीर घाइते र २५ हजार ३५७ सामान्य घाइते भए । बढीजसो सवारी दुर्घटना चालकको लापरबाहीले हुने गरेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी बताउँछन् ।

‘तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेका छन्,’ उनी भन्छन्, ‘अर्कोतर्फ जति सडक बनेका छन्, सुरक्षामैत्री छैनन् । चालक र यात्रु दुवैले हतार गर्दा पनि दुर्घटना बढ्ने गरेको छ । हतारले गर्दा क्षमताभन्दा बढी भए पनि यात्रु चढ्न चाहन्छन् भने हतार गरेर चालकले तीव्र गतिमा सवारी चलाउँदा नियन्त्रण गुम्ने गरेका घटना छन् ।’

राति चल्ने सवारीसाधनमा दुई जना चालक राख्ने भनिए पनि अभ्यासमा पूर्ण रूपमा नआइसकेकाले पनि दुर्घटना कम हुन सकेको छैन । ‘सवारीसाधनको चेकजाँच गर्ने भेहिकल फिटनेस टेस्ट राम्रोसँग कार्यान्वयनमा आएको छैन,’ एसएसपी अधिकारी भन्छन्, ‘झापा, धनगढी वा बैतडी जाने गाडी छन् भने पहिला त्यसले भेहिकल फिटनेस टेस्ट गराएर जाने व्यवस्था हुनुपर्छ, यी कुरा कार्यान्वयन नहुँदा दुर्घटनाको जोखिम बढ्दो छ ।’

राजमार्गहरूमा सडक बत्ती नहुँदा पनि दुर्घटनाको जोखिम रहेको र घाइतेलाई तत्काल उद्धार गर्न समस्या हुने गरेको उनले सुनाए । ‘लामो तथा छोटो दूरीमा सवारीसाधन चलाउने चालकलाई दिइने शिक्षा र सचेतना पर्याप्त छैन,’ अधिकारीले भने, ‘जुन अब अनिवार्य गर्न आवश्यक छ ।’

सडक राम्रो बन्दै गएकाले लामो रुटमा चालकले तीव्र गतिमा सवारी चलाउने गरेको र त्यसले झनै दुर्घटना बढाएको सडक सुरक्षाविज्ञ डा.भवगती सेढाईं बताउँछिन् । ‘चालकको अवस्था कस्तो छ, कति घण्टादेखि लामो दूरीका सवारीसाधन चलाइरहेका छन्, त्यो हेर्न जरुरी छ,’ उनले भनिन्, ‘कति दुर्घटना थकानका कारण र कतिपय दुर्घटना सडकको अवस्थाले गर्दा हुने गरेको छ ।’ दुर्घटना भइसकेपछि मात्र गाडीको अवस्था ठीक थिएन भन्ने गर्नु गलत रहेको उनले सुनाइन् ।

आसन्न निर्वाचनले आउजाउ गर्नेको भीड बढेकाले दुर्घटना हुन नदिन सबै निकाय सचेत हुनुपर्ने उनको भनाइ छ । ‘सडक र राजमार्गमा सीमित मात्रामा ट्राफिक प्रहरी राखिएको छ,’ उनी भन्छिन्, ‘दुर्घटनाको जोखिम रहेको क्षेत्रमा ट्राफिक प्रहरीको संख्या बढाउन जरुरी छ, प्रयोगकर्ताले सडक सुरक्षाका नियम पालना गरेको देखिँदैन, जसले गर्दा पनि दुर्घटना एकदमै बढेको छ ।’

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०४ मा लामो दूरीमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा कम्तीमा दुई जना चालक अनिवार्य रूपमा राख्नुपर्ने र प्रत्येक ६ घण्टापछि पालैपालोसँग सवारीसाधन चलाउन यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारीधनीले लगाउनुपर्ने उल्लेख छ । तर यो कार्यान्वयनमा छैन । निगरानी गर्ने निकायले यसमा चासो दिएको देखिँदैन । अधिकांशको सुझाव लामो दूरीमा गुड्ने सवारीसाधनको अवस्था जाँच गरेर मात्र गन्तव्यमा पठाउनुपर्ने सुझाव छ ।

‘भेहिकल फिटनेस टेस्ट सेन्टर’ भए पनि प्रभावकारी नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थ बताउँछन् । ‘टेकुमा भएको भेहिकल फिटनेस टेस्ट सेन्टर केही प्रभावकारी छ, अन्यत्रका त्यति प्रभावकारी छैनन्,’ उनले भने, ‘मेसिनले राम्रोसँग हेर्ने सुविधा छैन, जनशक्ति पर्याप्त छैनन्, यसलाई प्रभावकारी बनाउन जरुरी छ ।’ यसका लागि सरकारी निकायभन्दा निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ ।

सम्बन्धित खबर