
झापा । इरानका कैयौँ विश्वविद्यालयमा विद्यार्थीहरूले सरकार विरोधी प्रदर्शन गरेका छन् । गएको महिनाको घातक सरकारी दमनयता विद्यार्थीहरूले पहिलो पटक ठूलो प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।
इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित युद्धका लागि तयारी गरिरहेका बेला यी प्रदर्शन भएका हुन् । गएको जनावरीमा सरकार विरोधी प्रदर्शनहरूका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीहरूको सम्झनामा विद्यार्थीहरूले प्रदर्शन गरेका खबरमा उल्लेख छ ।
यसैबीच अमेरिकाले इरान नजिक सैनिक उपस्थिति बढाउँदै लगेको छ र राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारबाहीबारे विचार गरिरहेको बताउनुभएको छ । अमेरिका र उसका युरोपेली सहयोगीहरूले इरान आणविक हतियार विकास गर्ने दिशामा अघि बढिरहेको आशङ्का गर्छन् तर इरानले यो कुरा अस्वीकार गर्दै आएको छ ।
गएको मङ्गलवार अमेरिकी र इरानी अधिकारीहरूबीच स्विट्जरल्यान्डमा भेटवार्ता भएकोमा इरानको परमाणु कार्यक्रम कटौती गर्ने दिशाको वार्तामा प्रगति भएको खबर सार्वजनिक भएका थिए ।
महँगीविरुद्ध गएको महिना शुरू भएका प्रदर्शनहरू देशभर फैलिएको थियो । इरानी अधिकारीहरूले प्रदर्शनमा ३ हजार १०० जनाभन्दा धेरैको ज्यान गएको बताएका थिए ।


