२०८२ फागुन ९ शनिवार , ०९:०५:५१ बजे

Sajhamanch
'

एमालेको दाबी : “हाम्रै पार्टी पहिलो बन्छ, मुलुकको नेतृत्व हामी नै गर्छौं”

शनिवार, फागुन ९, २०८२

काठमाडौं । नेकपा एमालेले फागुन २१ गतेका लागि निर्धारित निर्वाचनपछि आफ्नै पार्टीले मुलुकको नेतृत्व लिने दाबी गरेको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले आफ्नो पार्टी पहिलो बन्ने र मुलुकको नेतृत्व लिने बताउनु भएको हो ।

आज शनिबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा संयोजक शाहीले भन्नुभयो, ‘हामीले गरेका वाचा र विगतमा हामीले गरेका कामका उपलब्धिका आधारमा नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी बन्नेछ, पहिलो पार्टी बन्ने छ ।’

आफ्नो पार्टी पहिलो बन्ने देखेपछि निर्वाचन प्रभावित पार्ने षड्यन्त्र भइरहेको र यसको सुरुवात हिजो दाङमा एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको एमालेको जिकिर छ ।

‘निर्वाचनलाई कसरी प्रभावित गर्न सकिन्छ भन्ने षड्यन्त्रका तानाबाना बुनिंदै छन् । त्यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ प्रचार विभाग संयोजक शाहीले भन्नुभयो, ‘नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय पार्टी, परिपूर्ण लोकतन्त्र, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानव अधिकारका आधारभूत मूल्य मान्यता, सामाजिक न्यायका सन्दर्भमा हाम्रा घोषणा पत्रमार्फत हामीले गरेका वाचा र विगतमा हामीले गरेका कामका उपलब्धिका आधारमा मुलुकको सर्वाधिक लोकप्रिय पार्टी बन्नेछ, पहिलो पार्टी बन्ने छ ।’

‘आगामी दिनमा हाम्रा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यो मुलुकलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय मार्ग तय गर्ने सन्दर्भमा फागुन २१ पछि हामी त्यसको नेतृत्व गर्नेछौं,’ पार्टीको धारणा सार्वजनिक गर्दै शाहीको दावी छ।