२०८२ फागुन ७ बिहिवार , ०७:३६:२८ बजे

Sajhamanch
'

३ महिनामा ५६६ ले लिए गैरआवासीय नेपाली नागरिकता

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । पछिल्लो तीन महिनामा ५६६ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । गृह मन्त्रालयको गत कातिक १ गतेदेखि पुस मसान्तसम्मको विवरणमा ५६६ जनाले गैरआवासीय नेपाली नागरिकता लिएको उल्लेख छ ।

गृह मन्त्रालयको विवरणअनुसार यस अवधिमा दुई लाख दुई हजार ९५६ वटा नागरिकता जारी भएको छ । यसमा वंशजको नागरिकता प्राप्त गर्नेको संख्या एक लाख १९ हजार १२ छ । २६ जनाले अंगीकृत नागरिकता लिएका छन् भन् वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या तीन हजार ३४० रहेको छ ।

संविधानको धारा १४ मा गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने छ ।’

यस संवैधानिक व्यवस्थाअनुसार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नसक्ने व्यवस्था विद्यमान छ ।

यससम्बन्धी संघीय ऐन बनेर कार्यान्वयनमा आएसँगै गैरआवासीय नेपाली नागरिकता जारी हुन थालेको हो ।

गैरआवासीय नेपाली नागरिकता प्रदान गर्नेसम्बन्धी नेपाल नागरिकता ऐन संशोधन विधेयक २०८० साल जेठ १७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । त्यस आधारमा २०८० साल असोज ३० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुवात गरेका थिए ।

नागरिकतासम्बन्धी ऐनअनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार हुनेछ । गैरआवासीय नेपालीहरूले नेपाली राहदानी लिने, सरकारी सेवामा प्रवेश गर्ने, नेपालको जुनसकै तहको जनप्रतिनिधिको पदमा उम्मेदवार हुन र मतदान गर्ने अधिकार पाउँदैनन् ।

सम्बन्धित खबर