
काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूलाई छुट्टै बैंक खाता खोल्न निर्देशन दिए पनि आजसम्म ७३३ जना उम्मेदवार र ६ वटा दलले मात्र खाता खोलेका छन् ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार प्रतिनिधिसभाका प्रत्यक्ष प्रणालीतर्फ कुल ३ हजार ४०६ उम्मेदवारमध्ये अहिलेसम्म २२ प्रतिशतभन्दा कम उम्मेदवारले मात्रै बैंक खाता खोलेका हुन् ।
यस्तै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा सहभागी हुने ६५ वटा दलमध्ये १० प्रतिशतभन्दा कमले मात्र बैंक खाता विवरण बुझाएका हुन् ।
आयोगकाअनुसार अहिलेसम्म कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ,नेकपा (संयुक्त) र नेपालका लागि नेपाली पार्टीले मात्र खाता विवरण बुझाएका छन् ।
चुनावमा राजनीतिक दल तथा उम्मेदवारहरूले गर्ने खर्च पारदर्शी होस् भनेर पहिलो पटक यो अभ्यास थालेको आयोगले जनाएको छ । चुनाव आउन अब १५ दिन मात्रै बाँकी छ ।
समयमा छुटै खाता नखोल्नेहरूलाई कस्तो कारबाही हुन्छ भन्ने आमचासो छ । तर आयोगले भने दण्डात्मकभन्दा नैतिकताको कसीमा पार्न खोज्ने प्रयास भएको बताएको छ । यसपालिको अभ्यासले आउँदा दिनमा सुधारको आधार तयार पार्ने आयोगको विश्वास छ ।


