२०८२ फागुन ५ मङ्गलवार , ०६:४२:०६ बजे

Sajhamanch
'

धनकुटा कोप्चेको पुनर्जागरण : इतिहास फर्काउने अभियान

मङ्गलवार, फागुन ५, २०८२

धनकुटा । धनकुटा सदरमुकामको कोप्चे क्षेत्र कुनै समय कोशी पहाडी जिल्लाहरूको प्रमुख व्यापारिक केन्द्र थियो ।

धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा लगायतका जिल्लामा लत्ताकपडा, खाद्यान्न र दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने मुख्य केन्द्रका रूपमा कोप्चे परिचित थियो ।

‘जता बाटो, उता व्यापार’ भन्ने उखान झै पहिलेको व्यापारीक केन्द्र र त्यहाँको चहलपहल विस्तारै घट्दै गयो । गाउँ–गाउँमा सडक सञ्जाल विस्तार भएसँगै कोप्चे विस्तारै सुनसान बन्दै गयो । व्यापार बाँडियो, पसलहरू सरे र कोप्चेमा चहलपहल हरायो ।

तर अहिले फेरि त्यही मौनता तोड्ने प्रयास स्थानीय युवाहरूले गरिरहेका छन् । स्थानीयको अगुवाइमा ‘कोप्चे पुनर्जागरण अभियान’ सुरु भएको छ । स्थानीय युवा उज्वल कर्माचार्य कोप्चेको पहिचान जोगाउन र नयाँ पुस्तालाई इतिहाससँग जोड्न विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै आएको बताउँछन् ।

नयाँ वर्षमा विशेष कार्यक्रम, ‘कोप्चे फेस्ट’, नेवारी खाना महोत्सव, खुला संवाद र भेला जस्ता गतिविधिले बजार क्षेत्रमा फेरि चहलपहल बढाउन थालेको उनको भनाइ छ ।

धनकुटा सदरमुकाममा तल्लो र माथील्लो दुईवटा कोप्चे छन् । माथिल्लो कोप्चेले स्थानीयताको प्रवर्द्धनका लागि सुन्तला सहर अभियान चलाएको छ । यहाँका सबैघरमा सुन्तला रंग लगाइएको छ । विशेषगरी सताब्दी पुरानो ऐतिहासिक बिहीबारे हटियालाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम हुन थालेका छन् ।

हराउँदै गएको ‘बाघचाल’ खेल पुनर्जीवित गरिएको छ । परम्परागत हस्तकला, स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रदर्शनीले पुरानो कोप्चेको झल्को दिलाउन थालेको छ । कोप्चेको आकर्षण भनेकै यसको वास्तुकला र मौलिकता हो । झिँगटी र तेलिया इँटाले बनेका घरहरू अझै छन् । नासिन लागेका पाटी–पौवा मौलिक स्वरूपमै पुनर्निर्माण गरिएका छन् ।

नयाँ बनेका होटल तथा रेस्टुराँसमेत पुरानै शैली झल्किने गरी निर्माण गरिएको स्थानीय आषिस कर्माचार्य बताउँछन् । भन्छन्, ‘मौलिकता बाँचे मात्रै इतिहास बाँच्छ ।’ आधुनिकता र विकासको नाममा पहिचान मेटिन नदिन आफूहरू सचेत रहेको उनले जनाए । कोप्चेसँग सम्बन्धित पुराना दस्तावेज, तस्बिर र कथाहरू संकलन गरी इन्टरनेट प्लेटफर्ममा राख्ने कामसमेत सुरु भएको छ ।

भौतिक प्रदर्शनी र सामाजिक सञ्जालमार्फत पुराना फोटोहरू सार्वजनिक हुनेगरेका छन् । स्थानीय राजेन्द्रबहादुर प्रधान भन्छन्, ‘पुराना कुरालाई चासो राख्ने र मौलिकतालाई माया गर्नेहरूका लागि कोप्चे घुम्नैपर्ने गन्तव्य बन्दैछ ।’ अहिले कोप्चे घुम्न आउनेहरूको संख्या विस्तारै बढ्दै गएको स्थानीयहरूको भनाइ छ ।

इतिहास, संस्कृति र मौलिक वास्तुकलामा रुचि राख्नेहरूका लागि यो क्षेत्र आकर्षक बन्दै गएको हो । व्यापारिक चहलपहल फर्काउने मात्रै होइन, पहिचान र पुरानो स्मृतिलाई जोगाउने अभियानका रूपमा कोप्चे पुनर्जागरण अभियान अघि बढिरहेको प्रधानले जनाए ।

सम्बन्धित खबर