
काठमाडौं । चुनावमा दल तथा उम्मेदवारले गर्ने आम्दानी र खर्च नयाँ बैंक खाताबाट व्यवस्थित गर्न निर्वाचन आयोगले प्रयास गरेको छ । तर ३ हजार ४०६ जना उम्मेदवारमध्ये अहिलेसम्म जम्मा ६७१ जनाले मात्रै नयाँ खाता खोलेका छन् ।
आर्थिक अनुशासनका लागि आयोगले यसपालीको चुनावमा नयाँ खाता खोल्नुपर्ने व्यवस्था गरेको हो । आयोगका सचिव कृष्णबहादुर राउतले कालीकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका धेरैजसो उम्मेदवारले अझै खाता नखोलेका बताउनुभयो ।
निर्वाचन आयोगले चुनावी खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेकोमा प्रत्यक्षतर्फका उम्मेदवार ३ हजार ४०६ जनामध्ये अहिलेसम्म बैंक खाता खोल्नेको सङ्ख्या ६७१ जना रहेका आयोगको प्रणालीमा सूचना प्राप्त भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
चुनावमा भाग लिने दल र उम्मेदवारले यसअघिका चुनावमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरिएको हो । यसबाट दल तथा उम्मेदवारको खर्च पारदर्शी हुने आयोगको विश्वास छ ।
आयोगले विभिन्न आधारमा भूगोलअनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था समेत गरेको छ । राजनीतिक दल र उम्मेदवारले २५ हजारभन्दा बढी रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार ७५३ वटै पालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा खुलेका छन् । आयोगले हिजो बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गरी छलफल गरेको थियो ।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैंकिङ प्रणालीबाट गरिने चुनावी खर्च पारदर्शी हुने बताउनुभएको थियो । बैंकसँगको छलफलमा उहाँले हातहातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको र त्यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको जानकारी दिनुभएको थियो ।


