२०८२ फागुन ४ सोमवार , १२:०७:५५ बजे

Sajhamanch
'

झापा गोल्डकपको उपाधिका लागि आज मछिन्द्र र एपिएफ भिड्दै

सोमवार, फागुन ४, २०८२

झापा । झापा गोल्डकपको सातौैँ संस्करणमा आइपुग्दा च्याम्पियन टोली नयाँ टिम बन्ने पक्का भएको छ । उपाधिका लागि आज पहिलोपल्ट फाइनल पुगेको मछिन्द्र एफसीले सशस्त्र प्रहरीको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

एपिएफले आयोजक झापा ११ एफसीलाई टाइब्रेकरमा रोक्दै फाइनल यात्रा तय गरेको हो भने चार पटक च्याम्पियन बनेको त्रिभुवन आर्मी एफसीमाथि गोलवर्षा गर्दै मछिन्द्र उपाधि होडमा उक्लिएको हो । यसैबीच, प्रिम्याच कन्फरेन्समा दुवै टिमले गोल्डकपको उपाधि जित्ने दाबी गरेका छन् ।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले अहिले चलिरहेका अन्य चर्चित प्रतियोगिताहरु छोडेर झापा गोल्डकपमा फोकस गरेको बताउनु भयो । उहाँले मच्छिन्द्रको ए टिम मैदानमा उतार्ने बताउनु भएको छ ।

उहाँले अधिकांश झापाली खेलाडी समेटेर बनाएको टिमलाई दर्शकको समर्थनसमेत जितको एउटा आधार हुने बताउनु भयो । उहाँले झापा ११ को तिर्सना मछिन्द्र फुटबल क्लबले मेटाउने भन्दै समर्थकलाई खेल हेर्नका लागि मैदानम आह्वान गर्नु भएको छ ।

त्यसैगरी एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय लिगमा उच्च प्रदर्शन गरेका र नियमित क्याम्पमा रहेका पहिलो दर्जाका खेलाडीले सशक्त प्रदर्शन गर्ने दाबी गर्नुभयो । उहाँले पनि झापा गोल्डकपलाई नै फोकस गरेर केही समयदेखि पूर्ण तयारी गरेको जानकारी दिनुभयो ।

मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले अधिकांस खेलाडी मैदानसँग परिचित भएका कारण होम ग्राउण्डमा खेलेको अनुभव हुने भएको भन्दै खेलका लागि सहज हुने बताउनु भयो । उहाँका अनुसार मच्छिन्द्रको लागि जित नै पहिलो लक्ष्य हो ।

एपिएफका कप्तान हरि कार्कीले आयोजक टिमलाई पराजित गरेर मनोबल उच्च बनाएको बताउनु भयो । फाइनलमा उपाधि हात पारेर झापा गोल्डकपको इतिहासमा नयाँ रेकर्ड बनाउने उद्घोष उहाँले गर्नुभयो । झापा गोल्डकपको विजेताले नगद १५ लाख, उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने छ ।

सर्वोत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल पाउँदा उत्कृष्ट प्रशिक्षक, स्ट्राइकर र गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा टिकट काटेर फुटबल हेर्ने एकजना दर्शकले गोलाप्रथाबाट यामाहा कम्पनीको एउटा स्कुटी पाउनेछ ।

सम्बन्धित खबर