
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम शुरु हुँदैछ ।
निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको र त्यसैअनुसार कार्यक्रम अगाडि बढाउन लागिएको निर्वाचन आयोगले जनाएको छ ।
आजदेखि शुरु भइ यही फागुन १७ गतेसम्म देशभरका ७५३ वटै पालिकाका ६ हजार ७४३ वडामा मतदाता शिक्षा सञ्चालन हुनेछ । आयोगका अनुसार यो अवधिमा मतदातालाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने मुख्य उद्देश्य छ । त्यसका लागि एकरएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुँदैछन् ।
खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट चुनावको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन् । प्रभावकारी मतदाता शिक्षाले मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ ।
आयोगले आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै पालिका, प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सम्पूर्ण सरोकारवालालाई आग्रह समेत गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।


