२०८२ फागुन १ शुक्रवार , ०६:५२:३६ बजे

Sajhamanch
'

७ महिनामा सरकारको आम्दानी लक्ष्यको ८२.२६ प्रतिशतमात्र

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ७औं महिना (साउन–माघ) मा लक्ष्यको ८२.२६ प्रतिशतमात्र आम्दानी गर्न सकेको छ ।

सरकारले यस महिनासम्म कुल ८ खर्ब १३ अर्ब ६३ करोड बराबर राजस्व र विविध प्राप्तिबाट आम्दानी गर्ने लक्ष्य लिएको थियो । संकलन भने ६ खर्ब ६९ अर्ब ३२ करोड बराबर भएको छ । जुन लक्ष्यको ८२.२६ प्रतिशत हो ।

गत आव सोही अवधिको तुलनामा राजस्व संकलन २.८३ प्रतिशतले बढेको छ । २०८१/८२ माघ मसान्तसम्म ६ खर्ब ५० अर्ब राजस्व संकलन भएको अर्थ मन्त्रालयको तथ्यांक छ ।

अर्थ मन्त्रालयका अनुसार राजस्वका मुख्य स्रोतमै लक्ष्य अनुसार संकलन हुन सकेन । जसको असर समग्र राजस्वमा स्पष्ट देखिएको छ । यस वर्ष माघ मसान्तसम्म १ खर्ब ७० अर्ब ५० करोड भन्सार महसुल उठाउने लक्ष्य थियो ।

संकलन १ खर्ब ३५ अर्ब ३२ करोड बराबर भएको छ । जुन लक्ष्यको ७९.३७ प्रतिशतमात्र हो । यो अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) लक्ष्यको ९०.४४ प्रतिशत उठेको छ ।

माघसम्म २ खर्ब १७ अर्ब बराबर भ्याट कर उठाउने लक्ष्य थियो । संकलन १ खर्ब ९६ अर्ब ४४ करोड बराबर भएको छ ।

अन्त:शुल्क लक्ष्यको ९०.९० प्रतिशत उठेको छ । माघ मसान्तसम्म १ खर्ब १५ अर्ब अन्त:शुल्क उठाउने लक्ष्य रहेकोमा १ खर्ब ५ अर्बमात्र संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै आयकर भने ७२.१० प्रतिशतमात्र उठेको छ । आयकर २ खर्ब २० अर्ब संकलन लक्ष्य थियो । संकलन भने १ खर्ब ५८ अर्ब ६६ करोडमात्र भएको तथ्यांक छ ।

विभागीय रूपमा हेर्दा पनि राजस्व संकलन गर्ने निकाय कुनैले पनि आफ्नो लक्ष्य भेट्न सकेनन् । भन्सार विभागले माघ मसान्तसम्म लक्ष्यको ८३.८४ प्रतिशत राजस्व उठाएको छ । आन्तरिक राजस्व विभागले ८१.३६ प्रतिशत उठाउन सकेको देखिएको छ ।

यस वर्ष आयकर गत आवको तुलनामा ०.८१ प्रतिशतले गिरावट आएको छ । अन्त:शुल्क १०.८८ प्रतिशतले बढेको छ । भ्याट कर ७.५८ प्रतिशतले बढेको पाइएको छ । भन्सार महसुल समेत ७.५३ प्रतिशतले वृद्धि भएको छ ।

सम्बन्धित खबर