२०८२ फागुन १ शुक्रवार , ०६:०१:०६ बजे

Sajhamanch
'

बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो

शुक्रवार, फागुन १, २०८२

झापा । बङ्गलादेशमा सम्पन्न चुनावमा विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले दुईतिहाइ बहुमत हासिल गरेको छ ।

बीएनपीले २९९ मध्ये २१२ सिट जितेको स्थानीय टिभी च्यानलहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । निर्वाचन आयोगले आधिकारीक घोषणा गर्न बाँकी नै छ ।

योसँगै पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । सन् २००८ देखि बेलायतमा बस्दै आउनुभएका ६० वर्षीय तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किनुभएको हो ।

पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टी सत्तामा हुँदा रहमान विभिन्न आपराधिक अनुसन्धानको भागीदार हुनुभएको थियो । तर हसिनाको शासन पतन भएपछि उहाँ सबै आरोपबाट मुक्त हुनुभएको छ ।

बीएनपीले झन्डै २० वर्षपछि सत्ताको नेतृत्व गर्न लागेको हो । यसअघि सन् २००१ देखि २००६ सम्म बीएनपीकी तत्कालीन पार्टी अध्यक्ष बेगम खालिदाले सरकारको नेतृत्व गर्नुभएको थियो ।

चुनावमा प्रतिद्वन्द्वी दल जमात–ए–इस्लामीले ७० सिट जितेको छ । जमात–ए–इस्लामीले मतपरिणामप्रति असन्तुष्टि जनाएको छ ।

यस्तै विद्यार्थी आन्दोलनबाट स्थापित नेशनल सिटिजन्स पार्टी (एनसीपी) ले खराब प्रदर्शन गरेको छ । एनसीपीले उम्मेदवारी दिएका ३० मध्ये केवल ५ सिट जितेको छ । एनसीपीले पनि मतपरिणाममा गडबडी भएको आरोप लगाएको छ ।

यद्दपि बङ्गलादेशको निर्वाचन आयोगले मतपरिणाम निष्पक्ष र विश्वसनीय भएको दाबी गरेको छ ।हसिनाको अवामी लिग पार्टी प्रतिबन्धित भएकाले यस चुनावमा सहभागी हुन पाएन ।

बङ्गलादेशमा विद्यार्थी आन्दोलनले सरकार ढालेको १८ महिनापछि ऐतिहासिक चुनाव भएको हो । सन् २०२४ को जुलाईमा विद्यार्थीहरूको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको थियो ।

बिहीवार भएको चुनावमा ५९ दशमलव ४४ प्रतिशत मतदाता सहभागी भएका थिए ।

यस्तै संवैधानिक सुधारको विषय समेटिएको ‘जुलाई बडापत्र २०२५’ बारे जनमत सङ्ग्रहको नतिजा सार्वजनिक हुन बाँकी छ ।

सम्बन्धित खबर