२०८२ फागुन १ शुक्रवार , ११:४५:०० बजे

Sajhamanch
'

फागुन महिनाका लागि पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । बैंकहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । निक्षेप थुप्रिँदै जाँदा र कर्जा प्रवाह सुस्त हुँदा बैंकको ब्याजदर माघ महिनाको तुलनामा घटेको छ ।

माघमा ४.६८४५ प्रतिशतविन्दु रहेको बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर फागुन महिनामा ०.११५५ प्रतिशतविन्दु घटेर ४.५६९ प्रतिशतविन्दुमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत दर समीक्षा अवधिमा ०.०५१५ प्रतिशतविन्दु घटेको छ ।

फागुन महिनामा ९ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । जसमध्ये ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु घटाएको छ ।

माघ महिनामा ५.५ प्रतिशत रहेको यो बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर फागुनमा घटेर ४.७५ प्रतिशतमा झरेको छ । ११ बैंकहरूले भने यस्तो मुद्दतिको अधिकतम ब्याजदरमा माघ महिनाकै दरलाई निरन्तरता दिएका छन् ।

फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज नेपाल बैंकले दिने भएको छ । बैंकले अधिकतममा ५ दशमलव १ प्रतिशतका दरले ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकको रहेको छ ।

यी बैंकहरूले अधिकतममा ४.२५ प्रतिशतका दरले ब्याज दिने भएका छन् । संस्थागत मुद्दति निक्षेपमा सबैभन्दा बढी हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबी बैंकले ४ प्रतिशत दरमा ब्याज दिनेछन् ।

सम्बन्धित खबर