२०८२ माघ २९ बिहिवार , ०५:३५:२९ बजे

Sajhamanch
'

कार्यसम्पादनमा ७५३ पालिकामध्ये पाणिनि गाउँपालिका पहिलो

बिहिवार, माघ २९, २०८२

काठमाडौं । पालिकाको कार्यसम्पादनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका पहिलो भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार पाणिनि गाउँपालिकाले ८३.८४ अङ्क प्राप्त गर्दै ७५३ पालिकामध्ये पहिलो भएको हो ।

दोस्रो स्थानमा रहेको रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अङ्क प्राप्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका ८.९८ अङ्कसहित तेस्रो र गुल्मीकै धुर्कोट गाउँपालिका ८०.५२ अङ्कसहित चौथो भएको छ । यी ४ वटा पालिकाले मात्र ८० अङ्क पार गरेका हुन् ।

कार्यसम्पादनमा सबैभन्दा कमजोर रौतहटको देवाही गोनाही नगरपालिका परेको छ । देवाहीले ३०.९१ अङ्क मात्रै प्राप्त गरेको छ । प्रायः मधेशका पालिका कमजोर देखिएका छन् ।

यसैबीच देशका ६ वटा महानगरमध्ये विराटनगर महानगरपालिका ७८.११ अङ्कसहित सबैभन्दा बलियो देखिएको छ भने सङ्घीय राजधानी रहेको काठमाडौं महानगरपालिका ४४.९७ अङ्कसहित सबैभन्दा कमजोर रहेको छ ।

दोस्रो स्थानमा परेको ललितपुर महानगरपालिकाले ७६.३३ प्रतिशत अङ्क पाएको छ । यस्तै तेस्रो भएको भरतपुरले ६८.०४ अङ्क, चौथो भएको पोखराले ५८.०४ र पाँचौँ स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अङ्क पाएको छ ।

आयोगले बजेट तर्जुमा र कार्यान्वयन, राजस्व परिचालन, लेखापरीक्षण, शिक्षा, स्वास्थ्य र सुशासनलगायतका १७ सूचकका आधारमा मूल्याङ्कन गरेको हो ।

सम्बन्धित खबर