
म्याग्दी । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् । अब विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई सुशासन, विकास र रोजगारीमार्फत भविष्य निर्माणको सङ्कल्प तथा योजना भएका उम्मेदवार भोट दिने युवा मतदाता बताउने गरेका छन् ।
शहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्मका मतदातामा काम गर्ने, समाज जोड्ने र विश्वास कायम गर्ने नेतृत्व रोज्ने धारणा बलियो बन्दै गएको युवा मतदाता भवि शर्माको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘चुनावको मौसममा उम्मेदवार र मतदाता दुवैका विचारहरू आइरहेका छन् । विगतदेखि नै उम्मेदवारले झुटा आश्वासन र विकासे नारामा हामीलाई लोभ्याउँदै आएको अवस्थामा यसपटक त्यस्तो हुँदैन । देशका समस्या समाधान गर्ने स्पष्ट योजना भएको उम्मेदवारलाई रोज्छौँ, त्यसका लागि हामीले सचेत भएर हेरिरहेका छौँ ।’
बेनी नगरपालिका–२ का मतदाता पूर्णबहादुर खत्री समाजमा विग्रह ल्याउने र गलत कुरा गरेर मत बटुल्ने सोचविरुद्ध आफू रहेको बताउनुहुन्छ । ‘हरेक चुनावमा सपना बाँडिन्छ, तर काम देखिँदैन । यसपटक पनि कतिपयले त्यस्तै गर्न खोजिरहेका छन्, तर हामी सचेत छौँ । अब समाजलाई भ्रमित बनाउने र झुट्टा आश्वासन दिने उम्मेदवारलाई भोट दिँदैनौँ । जनताको दुःख बुझ्ने र काम गर्ने मान्छेलाई रोज्छौँ’, उहाँले भन्नुभयो ।
मङ्गला गाउँपालिका–५ का किसान हरिकृष्ण पौडेलले देशमा सबैभन्दा प्रचुर सम्भावना भएर पनि उपेक्षामा परिरहेको कृषि क्षेत्रको विकासको स्पष्ट खाका ल्याउने दल र उम्मेदवारलाई आफ्नो सहयोग रहने बताउनुभयो ।
उहाँले कृषि, पर्यटन, रोजगारीलगायत क्षेत्रमा देखिएका समस्या समाधानको नीति, कार्यक्रम र सोच ल्याउनुको सट्टा नपत्याउने गफ गर्नेलाई पहिचान गर्ने चरणमै रहेकाले यसपटक सोचेर मात्र मत दिने योजना रहेको बताउनुभयो । खत्रीले भन्नुभयो,‘हामीलाई मल, सिँचाइ, सडक र बजार चाहिएको हो । जात र दलको कुरा गरेर समाज भाँड्ने राजनीति अब स्वीकार्य छैन । यस्तो प्रवृत्तिलाई भोट जाँदैन । यसपटक निकै सचेत भएर मत हाल्छौँ ।’
म्याग्दीमा राजनीतिक दलका र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । अहिले सबै उम्मेदवार जनताको घरदैलोमा गई आफ्ना योजना सुनाइरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले जनताले खोजेको विकास र सुशासन नै आफ्नो मुख्य ‘एजेन्डा’ भएको र जनताको घरघर गएर समस्या पहिचान र गुनासो सुन्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विभाजनको राजनीति होइन, सबैलाई समेटेर विकास गर्ने सोचसहितको बाटोमा हामी प्रतिबद्ध छौँ । मतदाताको विश्वासलाई कामबाटै प्रमाणित गर्छौं ।’
नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठ पनि जनचाहनाअनुसार नै आफूले काम गर्ने विषयमा जनतालाई बुझाउने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाको विकास र स्थानीयका चाहनाबारे हामी जानकार छौँ । गरिब, किसान र युवाका मुद्दा संसद्मा बलियो गरी उठाउने र जनचाहनाअनुसार नै विकास काम अगाडि बढाउनेमा मेरो पार्टी र म प्रतिबद्ध छु ।’
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले म्याग्दीमा अधुरा विकास योजना पूरा गर्नु आफ्नो प्राथमिक सरोकार भएको बताउनुभयो । ‘आश्वासन होइन, स्पष्ट योजना र समयसीमासहित काम गरेर देखाउने हाम्रो लक्ष्य छ । सोहीअनुसार जनतालाई बुझाउने काम भइरहेको छ’, उहाँले भन्नुभयो ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका महावीर पुनले आफूलाई परम्परागत राजनीतिभन्दा फरक भएको दाबी गर्दै घरदैलो गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘जनताले पुरानो शैली अस्वीकार गरिसकेका छन् । पारदर्शिता, जवाफदेहिता र परिणाममुखी काम नै मेरो पहिचान हुनेछ । त्यसका लागि मैले आफ्नो स्पष्ट सोच र योजना बनाएको छु ।’
यहाँ उम्मेदवार आफ्ना कुरा राख्न र मत माग्न व्यस्त छन् । मतदाताले पनि योजना र व्यक्तिको पृष्ठभूमि हेरेर निर्णय गछौँ भनेर आफ्नो धारणा राखिरहेका छन् । बेनी बजारमा व्यवसाय गर्दै आउनुभएका शिव पौडेलले उम्मेदवारका प्रतिबद्धता कार्यान्वयनको आधार देखेमा मात्रै यसपालिको चुनावमा कुनै उम्मेदवारलाई मत दिने बताउनुहुन्छ । ‘नेताहरूका कुरा धेरै सुनियो । अब व्यापार, रोजगारी र स्थायित्वका कुरा गर्ने उम्मेदवारलाई नै मेरो र परिवारको भोट जान्छ’, उहाँ भन्नुहुन्छ ।
बेनीकी युवा मतदाता अङ्गिता पुन पनि भन्नुहुन्छ, ‘हामी भाषण होइन, भविष्य खोजिरहेका छौँ । युवालाई देशमै अवसर दिने नीति र योजना भएको उम्मेदवारलाई मात्र भोट दिन्छौँ ।’
माउन्ट एभरेष्ट आवासीय माविका प्रधानाध्यापक राजु केसी मतदातामा बढ्दै गएको चेतनाले यसपटक चुनाव भावनाभन्दा मूल्याङ्कनमा आधारित हुने सङ्केत देखिएको बताउनुहुन्छ । आश्वासन र समाजमा दरार ल्याउने रणनीतिले उम्मेदवारलाई घाटा पुर्याउन सक्ने उहाँको विश्लेषण छ ।
यहाँका अधिकांश मतदाताले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर कालोपत्र गर्ने, अन्य सडक निर्माण तथा स्तरोन्नति, खानेपानी, शिक्षा, कृषि क्षेत्रको प्रवर्द्धन, सुलभ स्वास्थ्य सेवा, रोजगारीलगायतका मुद्दालाई मूल्याङ्कनको आधार बनाउने बताएका छन् ।
म्याग्दीमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ कूल ८६ हजार ३ सय ९७ मतदाता छन्, जसमध्ये अन्य एक, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३ सय ३२ छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १ सय २० मतदान केन्द्र कायम गरिएका छन् ।


