
झापा । २०२४ को विद्यार्थी आन्दोलनपछि पहिलो पटक बंगलादेशमा आज संसदीय र संवैधानिक जनमतसंग्रह एकैसाथ भइरहेको छ । झन्डै १२ करोड मतदाताले नयाँ सरकार चयन गर्न मतदान गरिरहेका छन् ।
बिहान शुरू भएको मतदान बेलुका साढे ४ बजेसम्म चल्ने बीबीसीले जनाएको छ । मतगणना भोलिदेखि शुरू हुने खबरमा उल्लेख छ । मुख्य प्रतिस्पर्धी दलहरू बंगलादेश नेशनलिस्ट पार्टी र जमात–ए–इस्लामीका शीर्ष नेताहरूले ढाकामा मतदान गरेका छन् । बीएनपी अध्यक्ष तथा सम्भावित प्रधानमन्त्रीका उम्मेदवार तारिक रहमानले मतदान गर्नुभएको छ ।
युवा केन्द्रित नेशनल सिटिजन पार्टीका संयोजक नाहिद इस्लामले पनि मतदान गर्नुभएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग भने प्रतिबन्धका कारण चुनावमा सहभागी छैन ।
सन् २०२४ को आन्दोलनपछि अन्तरिम सरकार गठन भई नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा निर्वाचन भइरहेको हो । देशभर सुरक्षा व्यवस्था कडा पारिएको र झन्डै १० लाख सुरक्षाकर्मी परिचालन गरिएको बीबीसीले जनाएको छ ।


