
झापा । बंगलादेशमा आज ऐतिहासिक संसदीय चुनाव हुँदैछ। झन्डै साढे १७ करोड जनसंख्या भएको बंगलादेशमा लोकतन्त्र पुनर्स्थापनापछि हुन लागेको यो पहिलो आमचुनावलाई देशको राजनीतिक स्थायित्वका लागि निर्णायक मानिएको छ ।
मतदान बिहान साढे ७ बजे शुरू हुँदैछ । मतगणना आजै बेलुकादेखि शुरू हुनेछ । प्रारम्भिक नतिजा मध्यराततिर आउन सक्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ । अन्तिम नतिजा भोलि बिहानसम्म आईसक्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।
यस पटकको चुनावमा ३ सय सिटका लागि २ हजारभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा झन्डै ५० राजनीतिक दल सहभागी छन् । एक निर्वाचन क्षेत्रमा उम्मेदवारको निधनका कारण मतदान स्थगित गरिएको छ । झन्डै १२ करोड ८० लाख मतदाता दर्ता भएका छन् । जसमध्ये ४९ प्रतिशत महिला भए पनि उम्मेदवारमध्ये केवल ८३ जना मात्र महिला छन् ।
मुख्य प्रतिस्पर्धा पूर्व सहकर्मी दलहरू बंगलादेश नेशनलिस्ट पार्टी र इस्लामवादी जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनबीच हुँदैछ । पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टी प्रतिबन्धित छ ।
यसले बंगलादेशको क्षेत्रीय कूटनीतिमा परिवर्तन ल्याउने विश्लेषण गरिएको छ, विशेषगरी भारतसँगको सम्बन्ध कमजोर बन्दै जाँदा चीनको प्रभाव बढ्न सक्ने आंकलन गरिएको छ । चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गराउन १ लाखभन्दा बढी सेना र झन्डै २ लाख प्रहरी परिचालन गरिएको खबरमा उल्लेख छ ।


