
काठमाडौं । नेपालमा जलपन्छी संख्यामा ठूलो गिरावट आएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको ‘एसियन वाटरवर्ल्ड सेन्सस २०२६’ को नतिजाले जलपन्छीको संख्या ठूलो मात्रामा घटेको देखाएको हो ।
३ देखि १८ जनवरी २०२६ सम्म १८ सिमसार क्षेत्र र त्यस अन्तर्गत ७८ साना क्षेत्रमा गरिएको गणनाले जलपन्छी अघिल्लो वर्षको तुलनामा घटेको पाइएको छ ।
विभागका वरिष्ठ इकालोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार यस वर्षको गणनाबाट देशभरि ८९ प्रजातिका ९० हजार ६८८ जलपन्छी रहेको देखिएको छ । जुन सन् २०२५ को तुलनामा ६ हजारभन्दा धेरैले कम हो । गत वर्ष ९४ प्रजातिका ९६ हजार ५६५ जलपन्छी गणनामा देखिएका थिए ।
तथ्यांक अनुसार काठमाडौं उपत्यकाभित्र टौदह र बागमती नदीमा जलपन्छी संख्या घटेको छ । यस क्षेत्रमा यस वर्ष १६ प्रजातिका १ ६४ जलपन्छी रहेको पाइएको छ । गत वर्ष १८ प्रजातिका २०४ पन्छी गणना गरिएको थियो ।
त्यस्तै मनोहराफाँटमा भने जलपन्छी बढेका छन् । यस क्षेत्रमा १४ प्रजातिका ३७९ पन्छी पाइएको छ । पोखरा उपत्यकाका सिमसारमा ४६ प्रजातिका ३ हजार ७६४ पन्छी गणनामा परेका छन् । जुन अघिल्लो वर्षको तुलनामा धेरै हो ।
उता, रारातालमा भने १३ प्रजातिका २५३ पन्छी भेटिएका छन् । जुन अघिल्लो वर्षभन्दा कम हो । पुरैनी र बन्धातालमा ५६ प्रजातिका २ हजार ३५२ पन्छी भेटिएका छन् । यस स्थानमा पन्छी संख्या बढेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ७० प्रजातिका २२ हजार ८१७ जलपन्छी भेटिएका छन् । त्यहाँसमेत संख्या बढेको छ । नाखोडी ताल कैलालीमा १५ प्रजातिका ३१४ चरा भेटिएका छन् । त्यहाँ पनि पन्छी संख्या बढेको छ ।
यसैगरी घोडाघोडी ताल क्षेत्रमा २४ प्रजातिका १ हजार १५० जलपन्छी गणना भएको छ । जुन अघिल्लो वर्षभन्दा कम हो । बर्दिया राष्ट्रिय निकुञ्जमा ५८ प्रजातिका ५ हजार ५४४ पन्छी भेटिएका छन् । त्यहाँसमेत पन्छी संख्या घटेको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा २५ प्रजातिका ५३६ जलपन्छी भेटिएका छन् । यहाँ पनि संख्या घट्दो क्रममा रहेको पाइएको छ । राप्ती नदी आसपास ३० प्रजातिका १ हजार १९४ जलपन्छी गणनामा परेका छन् । यहाँ भने संख्या बढेको पाइएको छ ।
त्यस्तै जगदीशपुर जलाशयमा ४१ प्रजातिका १० हजार २८२ जलपन्छी रहेको समेत तथ्यांक छ । त्यहाँसमेत संख्या घटेको छ । लुम्बिनी क्षेत्रमा ४७ प्रजातिका ४ हजार २०९ जलपन्छी रहेको देखिन्छ । यस क्षेत्रमा भने संख्या बढेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपास ६३ प्रजातिका २५ हजार ३५८ जलपन्छी रहेको पाइएको छ । त्यहाँ संख्या घटेको छ । हेटांैडाका तालतलैया र नदीमा २२ प्रजातिका ३७९ जलपन्छी छन् ।
धनुषाधाम र कमला नदीमा ३३ प्रजातिका २ हजार ५१ जलपन्छी रहेको तथ्यांक छ । यी दुवै क्षेत्रमा संख्या बढेको छ । बर्जुतालमा ३३ प्रजातिका ४ हजार ५२ पन्छी छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपास ५६ प्रजातिका ५ हजार ८९० जलपन्छी छन् । दुवै क्षेत्रमा जलपन्छी घट्दो क्रममा देखिएका हुन् ।
विभागका अनुसार हरेक वर्ष जनवरी पहिलो शनिबारदेखि जलपन्छी गणना हुँदै आएको छ । यसको मुख्य उद्देश्य बसाइँसराइ गर्ने र पानीमा बस्ने चराको प्रजनन नहुने समयमा गणना तथा अनुगमन गर्नु हो । यसले सिमसार क्षेत्रको अवस्थाबारे थाहा पाउने र पानीमा बस्ने चरा र सिमसार क्षेत्रको महत्त्व, त्यसको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सहभागी तथा जानकारी गराउने उद्देश्य राखिएको छ ।


