२०८२ माघ २५ आइतवार , ०६:५२:३७ बजे

Sajhamanch
'

सामाजिक सञ्जालमा राजनीति : चुनाव जित्ने नाममा समाज हार्ने जोखिम

आइतवार, माघ २५, २०८२

काठमाडौं । चुनाव नजिकिँदै जाँदा सडक बजार र चोकचौतारी मात्र होइन, सामाजिक सञ्जाल पनि तातिएको छ । फेसबुक, टिकटक, एक्स र युट्युब—सबैतिर राजनीति नै राजनीति छ । तर विचारको बहसभन्दा गाली, आरोप र भ्रमको हुल धेरै देखिन्छ । लोकतन्त्रको उत्सव हुनुपर्ने चुनावी समय, सामाजिक सञ्जालमा असभ्य प्रतिस्पर्धाको अखडा बन्दै गएको छ ।

विडम्बना के छ भने यो अराजकताको अगुवाइ नेताले भन्दा धेरैजसो कार्यकर्ता र समर्थकले गरिरहेका छन् । नेतालाई जिम्मेवार बनाऊ भन्ने आवाज उठाउनेहरू आफैं जिम्मेवारी बिर्सेर स्टाटस र कमेन्टमा उत्रिएका छन् । आफ्नो दल र आफूले समर्थन गरेको उम्मेदवार मात्रै ठीक अरू सबै गलत भन्ने मानसिकताले बहस होइन, विवाद जन्माइरहेको छ ।

सामाजिक सञ्जालमा लेखिएको हरेक शब्द सार्वजनिक हो । त्यो पोस्ट केवल आफ्ना समर्थक र विरोधीले मात्रै होइन, राजनीति नबुझेका सामान्य नागरिक, विद्यार्थी, वृद्धवृद्धा, केटाकेटी सबैले पढ्छन् । गलत सूचना, आधा सत्य र खुलेआम झूटले भ्रम फैलाउँछ, समाजमा डर जन्माउँछ र नागरिकलाई विभाजित बनाउँछ । चुनाव जित्ने नाममा समाज हार्ने जोखिम यहीँबाट शुरू हुन्छ ।

हामी नेताको आचरण, नैतिकता र जिम्मेवारीको कुरा धेरै गर्छौं । त्यो आवश्यक पनि हो । तर प्रश्न यहीँ आएर अड्किनु हुँदैन—नेतालाई सुधार्न चाहने कार्यकर्ता र समर्थक आफैं कति सुध्रिएका छन् ? भाषणमा सभ्यता खोज्नेहरूले नै सामाजिक सञ्जालमा असभ्यता प्रदर्शन गर्नु लज्जास्पद कुरा हो ।

समर्थन गर्नु अपराध होइन । आलोचना गर्नु पनि गलत होइन । तर आलोचना र गाली फरक कुरा हुन् । तथ्य र अफवाह फरक कुरा हुन् । असहमति र घृणा फरक कुरा हुन् । यी सिमाना मेटिँदा सामाजिक सञ्जाल असामाजिक बन्छ । अनि चुनाव लोकतान्त्रिक प्रक्रिया होइन, विषाक्त युद्धमा बदलिन्छ ।

एउटा भ्रामक भिडियोले सयौँ सही बहसलाई दबाइदिन्छ । एउटा काटिएको उद्धरणले कयौं जनमतलाई गलत दिशामा मोडिदिन्छ । एउटा झूटो क्याप्सनले समाजमा अविश्वास रोपिदिन्छ । यो सामान्य गल्ती होइन, भविष्यसँग खेलवाड हो ।

त्यसैले सामाजिक सञ्जालमा पोस्ट, लाइक र शेयर गर्नुअघि एकछिन सोचौँ—यो सत्य हो कि प्रचार ? यसले बहस बढाउँछ कि घृणा ? यसले नागरिकलाई सचेत बनाउँछ कि भ्रम बढाउँछ ? शंका लागे त्यो पोस्ट नगर्नु नै सबैभन्दा जिम्मेवार नागरिक र राजनीतिको उदाहरण हो ।

सामाजिक सञ्जाललाई सभ्य बनाउने जिम्मेवारी कुनै कानुनले मात्रै पूरा गर्न सक्दैन । यो हाम्रो चेतना, संस्कार र व्यवहारसँग जोडिएको विषय हो । बहस कडा हुन सक्छ, तर भाषा मर्यादित हुनुपर्छ । समर्थन प्रष्ट हुन सक्छ, तर झूटको भरमा होइन ।

चुनाव मतपेटिकामा खसाल्ने मत मात्रै होइन, समाजको चेतनास्तर नाप्ने परीक्षा पनि हो । असहमति लोकतन्त्रको सुन्दरता हो, तर गाली–गलौज र घृणाले समाज असभ्य बन्छ । सामाजिक सञ्जाल असामाजिक नबनोस्—त्यसको जिम्मेवारी हामी प्रयोगकर्ताकै हो ।

सम्बन्धित खबर