
झापा । थाइल्यान्डमा नयाँ संसद् चयनका लागि देशभरि मतदान चलिरहेको छ । नयाँ संसद् चयनसहित अहिलेको संविधानको पुनर्लेखन गर्नुपर्छ वा पर्दैन भन्नेबारे जनमत सङ्ग्रहअन्तर्गत पनि मतदान भइरहेकोले यो चुनावलाई महत्त्वका साथ हेरिएको छ ।
स्थानीयसमय अनुसार बिहान ८ बजे शुरू भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । चुनावमा ५० भन्दा धेरै दल सहभागी भए पनि मुख्यगरी पीपुल्स पार्टी, भुमजाइथाई र फ्यु थाई नै मुख्य प्रतिस्पर्धी मानिन्छन् ।
५ करोड ३० लाख मतदाता रहेको थाइल्यान्डमा संसद्का ५ सय सिटका लागि चुनाव भइरहेको हो । ५ सयमध्ये ४ चार सय सिटमा प्रत्यक्ष निर्वाचित हुन्छन् । बाँकी १ सय सिटको टुङ्गो समानुतिक प्रणालीबाट हुन्छ ।
हरेक मतदाताले दुइटै प्रणालीअन्तर्गत २ वटा मत खसाल्ने छन् । एउटा मत उम्मेदवारलाई र अर्को मत राजनीतिक दललाई जाने छ । बहालवाला प्रधानमन्त्री अनुतिन चार्नभिराकुलले समयअघि नै चुनाव आह्वान गर्नुभएको हो । उहाँ ३ वर्षको अवधिमा थाइल्यान्डका तेस्रो प्रधानमन्त्री हुनुहुन्छ ।
थाइल्यान्डले पछिल्ला वर्षहरूमा राजनीतिक उतारचढाव झेल्दै आएको छ । सुधारका कदम नचालिँदा सुस्त भएको अर्थतन्त्र, महँगीलगायतका विषय अहिलेका चुनावी मुद्दा रहेका छन् ।
यस्तै निर्वाचित नभएका सिनेटका सदस्यहरूलाई वर्तमान संविधानले व्यापक अधिकार प्रदान गरेको र सैनिक कूपछि संविधान ल्याइएको भन्दै पुनर्लेखनका लागि यो जनमत सङ्ग्रह भइरहेको हो ।
अहिलेको संविधान सैनिक शासनअन्तर्गत सन् २०१७ मा लेखिएको थियो । संसद्सँग संविधान बनाउने अधिकार भए पनि त्यसका लागि पहिले आमनागरिकले जनमत सङ्ग्रहबाट अनुमोदन गर्नुपर्ने हुन्छ ।
यसअघि सन् २००७ र २०१६ मा पनि यस्तै जनमत सङ्ग्रह भएका थिए । त्यस बेला संविधानको मस्यौदा तयार गरी पारित गरिसकेपछि कार्यान्वयनमा ल्याउन जनमत सङ्ग्रहरू गराइएको थियो ।
अहिले भइरहेको जनमतसङ्ग्रह संविधान निर्माणको पहिलो चरण हो, यसले अनुमोदन गरेमा मात्र संविधानको मस्यौदा लेखिने छ ।


