२०८२ माघ २३ शुक्रवार , ०४:४४:१९ बजे

Sajhamanch
'

स्वास्थ्य बीमाको दायित्व बजेटभन्दा दोब्बरले धेरै, स्रोत सुनिश्चित नगरि खर्च नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमतिविना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताउनुभएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरको १८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमाका लागि चालू आर्थिक वर्षमा विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिनुभयो ।

उहाँले बीमा बोर्डले स्रोतको सुनिश्चितता नगरि कार्यक्रम सञ्चालन गर्दा अहिले वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

सरकारले रुखबाट टिपेर पैसा नल्याउने र नागरिकले दुःखले कमाएर तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुने भएकाले बजेटको परिधिभित्र रहेर खर्च गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री गौतमले संविधानले निःशुल्क स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा व्याख्या गरेको र यसको कार्यान्वयनको एकल जिम्मेवारी पालिका सरकारको भएको उल्लेख गर्नुभयो ।

पालिकाले स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्नेमा मन्त्री गौतमको जोड छ । स्वास्थ्य क्षेत्रको दिगो व्यवस्थापनका लागि वित्तीय अनुशासन र स्रोतको उचित बाँडफाँट आवश्यक रहेको उल्लेख गर्दै उहाँले बीमा बोर्डलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

सम्बन्धित खबर