२०८२ माघ २३ शुक्रवार , ०७:०२:४९ बजे

Sajhamanch
'

नागरिकको चाहना : समृद्धिको सपना बेच्नुअघि सास फेर्न सजिलो बनाइदेऊ !

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । चुनाव नजिकिँदै गर्दा दल र उम्मेदवारहरूको दौडधुप बढेको छ । तर यो दौड नागरिकको जीवन सहज बनाउनेतर्फ भन्दा पनि एक–अर्कालाई उछिन्ने र छेक्ने प्रतिस्पर्धामा सीमित देखिन्छ । नयाँ दल पुरानालाई दोष दिन्छन्, पुराना दल नयाँलाई अनुभवहीन भन्दै पन्छाउँछन् । दुवैको निष्कर्ष उस्तै छ ‘हामी मात्रै सही छौँ ।’

उनीहरुको आरोपप्रत्यारोप र प्रतिष्पर्धाले नागरिकको मुद्दा चाहिँ ओझेलमा परेको छ । दलहरूका भाषण सुन्दा लाग्छ–नागरिकले अहिले कुनै समस्या झेल्नुपरेको छैन । सबै कुरा भोलि मिल्नेछ । पाँच वर्ष, दस वर्षपछि देश समृद्ध हुन्छ । तर त्यसको लागि आफूले चुनाव जित्नुपर्छ ।

सपना देखाउनु गलत होइन । तर पेट रित्तो हुँदा सपना होइन, भात चाहिन्छ । बिरामी पर्दा भविष्यको अस्पताल होइन, आजको उपचार चाहिन्छ । अहिले बजारमा खाना पकाउने ग्यास सजिलै पाईंदैन । यो समस्या अचानक आएको होइन, समाधान असम्भव पनि होइन । तर दलहरूका भाषण र आश्वासनमा ग्यासको लाइन देखिँदैन । किनकी यो समस्या फोटो खिच्न लायक छैन, नारामा अट्दैन ।

खानेतेल, चामल, दालजस्ता दैनिक उपभोग्य वस्तुको भाउ चुलिएको छ । महँगी अब समाचार होइन, घर–घरको यथार्थ बनेको छ । तलब उही, खर्च दोब्बर । महिनाको अन्त्य आउँदा हिसाब मिलाउन नसक्ने परिवारको संख्या बढ्दो छ । तर दल र उम्मेदवारहरुका आश्वासनमा मूल्यवृद्धि नियन्त्रणबारे ठोस योजना सुन्न पाइँदैन ।

स्वास्थ्य बीमा बन्द हुने अवस्थामा पुगेको खबर झन् डरलाग्दो छ । गरिब र मध्यम वर्गका लागि स्वास्थ्य बीमा केवल सेवा होइन, भरोसा हो । बिरामी परे घरजग्गा बेच्नुपर्दैन भन्ने सानो ढाडस हो । त्यो व्यवस्था नै धरापमा पर्नु भनेको नागरिकलाई फेरि असुरक्षित बनाउनु हो । तर दलहरू यसलाई गम्भीर राजनीतिक मुद्दा बनाउन चाहँदैनन् । किनकि यसमा न त ठूलो नारा छ, न त तुरुन्त ताली बज्छ ।

दलहरू सधैं दीर्घकालीन परिवर्तनको कुरा गर्छन् । तर देश परिवर्तन हुने पहिलो ठाउँ नागरिकको दैनिकी हो । चुलो बल्यो कि बलेन ? औषधि किन्न सक्यो कि सकेन ? छोराछोरीको स्कुल फी तिर्न सक्यो कि सकेन ? यही ठाउँबाट राज्यको सफलता÷असफलता नापिन्छ । तर दलहरूको नजर ठूला परियोजनामा मात्रै अडिएको छ, साना तर जीवनसँग जोडिएका पीडामा होइन ।

चुनावको बेला आश्वासन बाँड्नु स्वभाविक हो । नयाँ र पुरानाका नारा र कुरा फरक हुन सक्छन्, तर नागरिकको भोक साझा मुद्दा हुनुपर्छ । ग्यास, महँगी, स्वास्थ्य–यी विषयमा दलहरूले संयुक्त रूपमा पहल गर्न सक्थे । तर चुनावी जोडघटाउले मानव संवेदनालाई जितेको छ ।

दीर्घकालीन योजना आवश्यक छ । तर दीर्घकालीन सपना वर्तमानको पीडामाथि उभिन सक्दैन । आजको समस्या समाधान नगरी भोलिको समृद्धि विश्वसनीय हुँदैन । यो चुनावमा नागरिकको माग ठूलो छैन । रेल र जहाज होइन, नियमित ग्यास चाहिएको छ ।

करोडौँको अस्पतालभन्दा पहिले चलिरहेको स्वास्थ्य बीमा चाहिएको छ । चमत्कार होइन, नियन्त्रणमा रहेको बजार चाहिएको छ । दलहरूलाई एउटा सरल सन्देश छ–पहिले नागरिकलाई सास फेर्न सजिलो बनाइदेऊ । त्यसपछि मात्रै समृद्धिको सपना बेच ।

सम्बन्धित खबर