
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताउनु भएको छ । सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको भण्डारीले बताउनु भएको हो ।
‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन घोषणा भएको भोलिपल्टदेखि हामीले छलफल सुरु गरेका हौँ’, कावा प्रमुख आयुक्त भण्डारीले भन्नुभयो ।
भदौ २३ र २४ मा जेनजी आन्दोलन भयो । त्यसक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गते निर्वाचनको मिति घोषणा गर्नु भएको हो ।
यसकारण प्रारम्भमा सुरक्षाको विषयमा धेरैको चासो रहनु स्वाभाविक रहेको कावा प्रमुख आयुक्त भण्डारी बताउँछन् । ‘विद्रोहपछिको सरकार हो । संविधान जीवित छ,’ उहाँ भन्नु हुन्छ, ‘पुरानो भइरहेको शक्ति र नयाँ आएका शक्तिहरूको बिचमा सन्तुलित वातावरण कायम भएन भने निर्वाचन शान्तिपूर्ण वातावरणमा हुँदैन् ।’ सुरक्षाका चुनौती पहिचान गरेर सरकारसँग पटक–पटक छलफल गरिएको उहाँले जानकारी दिनुभयो।
शान्ति सुरक्षाका सन्दर्भमा दलको नेता, दलले छानेको उम्मेदवारको विषय आउने गरेको पनि उहाँले स्मरण गर्नुभयो । ‘अझ निर्वाचन प्रक्रियामा भाग लिन, मतदान गर्न जाने मतदाताको सुरक्षाको विषयकेन्द्रित छलफल पनि हुँदै आएका छन्,’ उहाँले भन्नुभयो ।
सरकार र सुरक्षा निकायका प्रमुखहरूसँग आयोगले गर्दैआएका छलफलका आधारमा अहिले मतदाताको सुरक्षा गर्न सुरक्षा निकाय सक्षम रहेको पाइएको उहाँले बताउनु भयो ।
‘सबै कोणबाट हेर्दा अब शान्ति सुरक्षाबारे धेरै टाउको दुखाउनुपर्ने आवश्यकता देखिएन,’ कावा प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, ‘निर्वाचन ढुक्कसँग हुन्छ, शान्तिपूर्ण हुन्छ । यहाँ कसैले बिथोल्न सक्दैन् ।’ बिथोल्नखोज्ने तत्त्व सुरुमै परास्त भएपछि कुरा सकिएको उहाँले बताउनु भयो ।


