
झापा । अमेरिका र रुसबीच उच्चस्तरीय सैन्य स्तरको वार्ता फेरि शुरू गर्ने सहमति भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
दुई देशबीचको यसअघिको सन्धिको अवधि समाप्त भएको केही घण्टापछि हिजो नै नयाँ वार्ता शुरू गर्ने सहमति भएको समाचारसंस्था एएफपीले जनाएको छ ।
सम्झौता समाप्त भएपछि हिजो रुसले आणविक हतियारको सङ्ख्यामा अब कुनै सीमा नभएको जनाएको थियो । अमेरिकी सेनाको युरोपियन कमान्डले विज्ञप्ति निकाल्दै सैन्यतहको संवाद कायम राख्नु विश्वव्यापी स्थिरता र शान्तिका लागि महत्त्वपूर्ण हुने जनाएको छ । केवल शक्तिको माध्यमबाट सबै थोक प्राप्त गर्न सकिन्छ भन्ने नभई नयाँ सहमतिले थप पारदर्शिता र तनावलाई कम गर्ने विज्ञप्तिमा उल्लेख छ ।
आणविक हतियार सन्धिको अन्त्यले विश्वका शीर्ष आणविक शक्तिराष्ट्रहरूबीच हतियारको नयाँ होडबाजी शुरू हुने र चीनलाई आफ्नो शक्ति विस्तार गर्न प्रोत्साहित गर्ने अभियानकर्ताहरूले चेतावनी दिएका छन् । यसैबीच, फरक परिस्थितिमा विश्वका जिम्मेवार देशहरूले ‘जिम्मेवारी र संयम’ अपनाउन नेटोले आग्रहसमेत गरेको छ ।


