
झापा । चीनले विद्युतीय गाडीमा लुकेका अर्थात् स्वचालित रूपमा बाहिर आउने ढोका ‘ह्यान्डल’ मा रोक लगाएको छ । चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयले यो नयाँ नियम जारी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यो नियम अर्को वर्ष अर्थात् सन् २०२७ को जनवरी १ देखि लागू हुनेछ । पहिले नै स्वीकृत भइसकेका गाडीहरूमा भने सन् २०२९ को जनवरी १ भित्र डिजाइन बदल्नुपर्नेछ ।
गाडी दुर्घटना भएर विद्युतीय प्रणालीमा समस्या आउँदा ढोकाहरू नखुल्ने र यात्रुहरू भित्रै फसेर ज्यान गएका घटना भएपछि चीनले यस्तो व्यवस्था गरेको हो ।
विशेषगरी आगो लाग्दा वा पानीमा डुब्दा यस्ता ढोका ह्यान्डलहरू काम नगर्ने र यात्रुहरूलाई बाहिर निस्कन कठिनाइ हुने गरेको सुरक्षा विशेषज्ञहरूले बताएका छन् ।
टेस्ला, बीवाईडी, एनआईओ लगायतका ठूला विद्युतीय गाडी निर्माताहरूले यस्तो डिजाइन प्रयोग गर्दै आएका छन् । अब उनीहरूले चिनियाँ बजारका लागि आफ्ना गाडीहरूको डिजाइन बदल्नुपर्ने छ ।
यस्तो नियम लागू गर्ने चीन विश्वको पहिलो प्रमुख देश हो । चीन विश्वको सबैभन्दा ठूलो विद्युतीय गाडीको बजार भएकाले यो निर्णयको प्रभाव विश्वव्यापी गाडी उद्योगमा पर्ने अपेक्षा रहेको रोयटर्सको समाचारमा उल्लेख छ ।


