२०८२ माघ २२ बिहिवार , ०५:०९:४१ बजे

Sajhamanch
'

भारत–अमेरिका व्यापार सम्झौतापछि नेपालमा पनि डलर सस्तिँदै

बिहिवार, माघ २२, २०८२

काठमाडौं । भारत र अमेरिकाबीच व्यापार सम्झौता भएसँगै नेपालमा पनि अमेरिकी डलरको भाउ सस्तो हुने अपेक्षा बढेको छ ।

विश्व बजारमा डलर लगातार कमजोर भइरहँदा पनि भारतीय मुद्रासँगको स्थिर विनिमयका कारण नेपालमा डलर महँगो भइरहेकोमा अब भारतीय मुद्रासँगै नेपाली मुद्रा पनि बलियो हुने आशा बढेको अर्थविद्हरू बताउँछन् ।

नेपालमा यही फेब्रुअरी १ तारिखमा १ अमेरिकी डलरको भाउ १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो । यसैबीचमा अमेरिका र भारतबीच सहमति भएसँगै आजसम्ममा डलरको भाउ १४५ रुपैयाँमा झरेको छ ।

अमेरिका र भारतले व्यापार सम्झौता गर्न सहमति जनाएलगत्तै भारतीय मुद्रा एकै दिन झन्डै १ प्रतिशतले बलियो बनेका कारण त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको हो ।

सहमतिपछि भारतीय रुपैयाँमा कैयौँ महिनायता देखिएको गिरावट अनि त्यस सँगसँगै नेपाली रुपैयाँको गिरावट पनि अब थामिने स्पष्ट सङ्केत देखिएको जानकारहरू बताउँछन् ।

६५ वर्षदेखि नेपाल र भारतले स्थिर विनिमय प्रणाली अपनाएका छन् । अहिले विश्व बजारमा भारतीय मुद्राको अवस्था जे हुन्छ, नेपाली मुद्राको अवस्था पनि उस्तै हुने गर्दछ ।

डलर बलियो हुँदा रेमिट्यान्स पठाउनेहरूलाई फाइदा देखिए पनि समग्रमा देशको मुद्रा कमजोर हुँदा त्यसले धेरै घाटा गर्छ । अझ नेपालजस्तो निर्यातको तुलनामा आयात कैयौँ गुणा धेरै भएको देशको बजार भाउमा पनि डलरको अवस्थाले प्रत्यक्ष प्रभाव पार्ने भएकोले उपभोक्ताको हितका लागि पनि स्वदेशी मुद्रा बलियो हुनुपर्छ ।