
झापा । इरानले भोलि ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानको तस्निम समाचार एजेन्सीका अनुसार इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ता भोलि ओमानको मस्कटमा हुने र वार्ता आणविक मुद्दा र इरानमाथिको प्रतिबन्ध फुकुवामा मात्र सीमित हुनेछ ।
इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गर्ने र इरानी प्रतिनिधिमण्डलमा वरिष्ठ कूटनीतिज्ञहरू माजिद तख्त–भाभान्ची र काजिम घारिबादी पनि रहने खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि वार्तामा सहभागी हुन सक्ने अमेरिकी कूटनीतिज्ञ स्टिभ विटकोफले बताउनु भएको छ ।
तेहरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम वा प्रतिरक्षा क्षमतासम्बन्धी वार्तालाई अस्वीकार गर्दै वार्ता आणविक मुद्दामा मात्र केन्द्रित हुनुपर्ने कुरामा बारम्बार जोड दिँदै आएको छ ।
अराघची र विटकोफले गएको वर्ष इरान र अमेरिकाबीच पाँच चरणको आणविक वार्ताको नेतृत्व गर्नुभएको थियो र त्यसपछि इजरायलले छैटौँ चरणको योजनाअघि एक्कासी १२ दिनसम्म बमबारी गरेपछि वार्ता अवरुद्ध भएको थियो ।
तेहरान र वासिङ्टनबीच बढ्दो तनावको बीचमा भोलि वार्ता हुन लागेको हो । अमेरिकाले हालैका दिनहरूमा इरानको सरकारविरोधी प्रदर्शनको दमनपछि मध्य पूर्वमा एक युद्धपोत समूह तैनाथ गरेको छ । तेहरानले गएको महिना भएको आन्दोलनका क्रममा ३ हजारभन्दा धेरैको ज्यान गएको स्वीकार गरेको छ ।
इरानमा शान्तिपूर्ण विरोध प्रदर्शनको रूपमा शुरू भएको आन्दोलन अमेरिका र इजरायलले भड्काएपछि दङ्गामा परिणत भएको इरानी अधिकारीहरूको भनाइ छ । अमेरिकाको गैरसरकारी संस्था ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सीले आन्दोलनमा ६ हजार ८ सय ७२ प्रदर्शनकारीको ज्यान गएको पुष्टि भएको जनाएको छ ।


