२०८२ माघ २१ बुधवार , ११:३३:१८ बजे

Sajhamanch
'

अर्जुनधारामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, शनिश्चरे माविको ह्याट्रिक

बुधवार, माघ २१, २०८२

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । माघ १८ गतेदेखि आजसम्म सञ्चालन भएको प्रतियोगितामा शनिश्चरे माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै उपाधि जितेको छ ।

नगरभित्रका २६ वटा सामुदायिक तथा निजी माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा शनिश्चरे माविले २१ स्वर्ण पदकसहित कुल ४५ पदक जित्दै शीर्ष स्थान कायम गरेको हो । शनिश्चरेले २१ स्वर्ण, १५ रजत र ९ कास्य पदक जित्यो ।

यसअघिका दुई संस्करणको पनि विजेता रहेको शनिश्चरेले यसपटक पनि उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।  तेस्रो पटक उपाधि चुमेर शनिश्चरे माविले ह्याट्रिक गरेको छ ।

प्रतियोगितामा सिंहदेवी माध्यमिक विद्यालयले ९ स्वर्ण, ८ रजत र १० कास्यसहित २७ पदक जित्दै दोस्रो स्थान हासिल गर्‍यो भने जनता माध्यमिक विद्यालयले ७ स्वर्ण, ७ रजत र ४ कास्यसहित १८ पदक जितेर तेस्रो स्थान हात पार्‍यो ।

त्यसैगरी लक्ष्मी माध्यमिक विद्यालय ६ स्वर्णसहित ९ पदक जितेर चौथो स्थानमा रहँदा रुपरत्न मेमोरियलले ५ स्वर्णसहित २० पदक जितेर पाँचौँ स्थान हासिल गर्‍यो । सिर्जना सिसु सदन ४ स्वर्णसहित छैटौँ, विपिएएस ३ स्वर्णसहित सातौँ, देव भूमि इङ्लिस स्कुल २ स्वर्णसहित आठौँ र भानु माध्यमिक विद्यालय १ स्वर्णसहित नवौँ स्थानमा रह्यो ।

अर्जुनधारा–१ स्थित सिंहदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उस्सु र कराँते गरी छ वटा खेल विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा अर्जुनधाराका २६ माध्यमिक विद्यालयका करिब ४०० विद्यार्थी खेलाडी सहभागी भएका थिए । प्रतियोगिता अन्तर्गत ६६ स्वर्ण, ६६ रजत र १०२ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

समापन समारोहमा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, प्रतियोगिता संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधारा–१ का वडाध्यक्ष उपेन्द्र बस्नेत, सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रतियोगिता सञ्चालन समितिका सचिव कमलप्रसाद बाँस्कोटा लगायतले विजेता खेलाडी तथा विद्यालयलाई पुरस्कार वितरण गर्नुभयो ।

समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख गोम्देनले खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास सम्भव हुने भएकाले अर्जुनधारा नगरपालिकाले नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड नियमित रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँले खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा सीमित नगरी अनिवार्य शिक्षाको अङ्गका रूपमा लागू गर्नुपर्ने धारणा राख्नुभयो । खेल क्षेत्रमा अब्बल विद्यार्थी खेलाडीलाई नगरपालिकाले विशेष सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रमका संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले नगरस्तरमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी खेलाडीलाई जिल्ला स्तरीय प्रतियोगिताका लागि अझ राम्रो तयारी गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति रनिङ शिल्डलाई स्थानीय सरकारले बजेट पुस्तिकामै समावेश गर्नसके व्यवस्थापन र सञ्चालन अझ प्रभावकारी हुने उहाँको भनाइ थियो । उहाँले आगामी वर्ष आयोजना हुने १७औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड अर्जुनधारा–३ स्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन हुने जानकारी पनि दिनुभयो ।

प्रतियोगिता समापनको अवसरमा शिक्षण तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका शिक्षक तथा उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर