
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा प्रयोजनका आजदेखि नेपाली सेना परिचालित भएको छ ।
देशभरका १६५ वटै क्षेत्रको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना– २०८२ अनुरूप आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका हुन् ।
सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित भएका हुन् । सुरक्षा योजना अन्तर्गत निर्वाचन प्रहरी (म्यादी प्रहरी) पनि निर्वाचन सुरक्षामा खटिइनेछन् ।
सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी र निर्वाचन प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिने छन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल तथा बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिनेछ ।
गत मंसिर ११ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए ।
निर्वाचन सुरक्षालाई केन्द्रित गरी आवश्यकताअनुसार सेनाको ‘वेस’ खडा हुने र आवश्यकताका आधारमा संयुक्त गस्ती हुने सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो ।
नेपाली सेनाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्नेछ ।


