२०८२ माघ २१ बुधवार , ११:५९:५० बजे

Sajhamanch
'

अरब सागरमा इरानी ड्रोन खसालेको अमेरिकी सेनाको दाबी

बुधवार, माघ २१, २०८२

झापा । अमेरिकाले अरब सागरमा आफ्नो विमानवाहक युद्धपोत तर्फ आउँदै गरेको इरानी ड्रोन खसालेको दाबी गरेको छ । अमेरिकी सेनाका अनुसार हिजो त्यो ड्रोनलाई स्टेल्थ लडाकु विमान प्रयोग गरी आत्मरक्षाका लागि खसालिएको हो ।

अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जहाज इरानको तटबाट झन्डै ५ सय माइल टाढा रहेको अवस्थामा ड्रोन नजिकिएको र यसको उद्देश्य स्पष्ट नभएकाले कारबाही गरिएको बताउनुभयो । घटनामा कुनै पनि अमेरिकी सैनिक वा उपकरणमा क्षति नभएको खबरमा उल्लेख छ ।

यो घटना वासिङ्टन र तेहरानबीच तनाव चर्किरहेको समयमा भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्ने सम्झौतामा सहमत नभए सैन्य कारबाही हुन सक्ने चेतावनी दिँदै आउनुभएको छ ।

व्हाइट हाउसकी प्रेस सेक्रेटरी करोलाइन लेभिटले राष्ट्रपति ट्रम्प कूटनीतिलाई प्राथमिकता दिने पक्षमा रहेको, तर सबै विकल्प खुला रहेको बताउनुभएको छ । यसैबीच, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले इरानमाथि कुनै पनि आक्रमण भए क्षेत्रीय युद्ध शुरू हुने चेतावनी दिँदै आउनु भएको छ ।

ड्रोन घटनाबारे इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । क्षेत्रीय तनावकाबीच अमेरिका र इरानबीच हुने सम्भावित वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेका छन् ।

सम्बन्धित खबर