२०८२ माघ २० मङ्गलवार , ०४:५४:५५ बजे

Sajhamanch
'

विश्व बैंकले नेपाललाई १३ अर्ब ९७ करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने

मङ्गलवार, माघ २०, २०८२

काठमाडौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्द्धन गर्न ९ करोड ५० लाख अमेरिकी डलर अर्थात् १३ अर्ब ९७ करोड रुपैयाँ बराबरको परियोजना स्वीकृत गरेको छ ।

अमेरिकाको वाशिङ्गटन डीसीमा रहेको बैंकको प्रधान कार्यालयले आज निकालेको विज्ञप्तिमा यो परियोजनाबाट १ लाखभन्दा धेरै साना तथा मझौला उद्यम लाभान्वित हुने उल्लेख छ ।

साथै जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई उत्पादन शुरू गर्न निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डीसीजीएफ) लाई सुदृढ बनाइने बैंकले जनाएको छ ।

माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले यो परियोजनामार्फत वित्तीय पहुँच सहज बनाएर तथा कारोबारी अवरोध घटाएर वित्तीय समावेशिता विस्तार, एमएसएमईलाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलामा समेट्न सहयोग र निजी क्षेत्र नेतृत्वको रोजगारी सिर्जनामा योगदान पुग्ने बताउनुभएको छ ।

‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) विश्व बैंकको सहयोगमा सन् २०२४ मा सम्पन्न वित्तीय क्षेत्र स्थायित्व तथा आर्थिक वृद्धिका लागि वित्तसम्बन्धी विकास नीतिगत कर्जा (डीपीसी) शृङ्खलाअन्तर्गत गरिएका सुधारको निरन्तरता हो ।

सम्बन्धित खबर