२०८२ माघ १९ सोमवार , ०५:१२:४९ बजे

Sajhamanch
'

गहिरो समुद्रमा दुर्लभ खनिज तत्वको खोजमा जापानलाई सफलता

सोमवार, माघ १९, २०८२

झापा । जापानले समुद्रको ६ हजार मिटर गहिराइबाट दुर्लभ खनिज तत्वहरु जमेको पदार्थ सफलतापूवर्कन निकालेको जनाएको छ । जापान सरकारले यसबारेमा जानकारी दिँदै गहिरो समुद्री परीक्षण मिसनमा ठूलो सफलता हासिल गरेको बताएको हो ।

समाचारसंस्था एएफपीका अनुसार ६ हजार मिटर गहिराइमा पुगेर दुर्लभ खनिज निकाल्ने यो विश्वकै पहिलो प्रयास हो । गएको महिना चिक्यु नामक गहिरो समुद्री वैज्ञानिक ड्रिलिङ डुङ्गाले प्रशान्त महासागरको दुर्गम टापु मिनामी तोरिशिमातर्फ यात्रा गरी नमूना सङ्कलन गरेको थियो ।

दुर्लभ खनिजको विश्वकै सबैभन्दा ठूलो आपूर्तिकर्ता चीनले जापानमाथि दबाब बढाइरहेका बेला जापानको खोज नतिजा सार्वजनिक भएको हो । दुर्लभ खनिज भन्नाले पृथ्वीको माथिल्लो तहबाट निकाल्न कठिन १७ प्रकारका धातुहरूलाई जनाउँछ । यी तत्वहरू विद्युतीय गाडी, हार्ड ड्राइभदेखि मिसाइल प्रणालीसम्म प्रयोग गरिन्छ ।

जापानको विशेष आर्थिक जलक्षेत्रभित्र पर्ने मिनामी तोरिशिमाको वरपरको क्षेत्रमा १ करोड ६० लाख टनभन्दा बढी दुर्लभ खनिज रहेको अनुमान गरिएको छ । यो विश्वकै तेस्रो ठूलो दुर्लभ खनिज भण्डार हो ।

विज्ञहरूका अनुसार यदि जापानले त्यहाँबाट दुर्लभ खनिजहरु सफलतापूर्वक निकाल्न सके चीनमाथिको आपूर्ति निर्भरता उल्लेखनीय रूपमा घट्ने छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार विश्वको दुर्लभ खनिज उत्खननको दुई तिहाइ र परिष्कृत उत्पादनको ९२ प्रतिशत हिस्सा चीनको नियन्त्रणमा छ ।

सम्बन्धित खबर