२०८२ माघ १९ सोमवार , ०४:१०:१८ बजे

Sajhamanch
'

निर्वाचन लक्षित २५ लाख नक्कली नोटसहित १० जना पक्राउ

सोमवार, माघ १९, २०८२

काठमाडौँ । आमनिर्वाचन लक्षित गरेर नेपालमा नक्कली नेपाली र भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको ठूलो गिरोह भारतमा पक्राउ परेको छ ।

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत रक्सौल आसपासमा नक्कली नोटको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोह समातिएको हो । पूर्वी चम्पारण प्रहरी र एसटिएफको संयुक्त टोलीले भारतेको सीतामढीको मेजरगंज क्षेत्रमा सञ्चालित नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना नै फेला पारेर ध्वस्त पारेको छ ।

छापामारीमा २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट, १८ हजार ५०० नक्कली भारतीय रुपैयाँ र नोट छाप्ने हाइटेक मेसिन बरामद भएको हो । नोट छाप्न प्रयोग हुने कागज, रसायन तथा अन्य सामग्री पनि बरामद भएको भारतीय प्रहरीको भनाइ छ । घटनामा संलग्न १० जना अभियुक्तलाई पक्राउ गरिएको छ, समातिनेमा ३ जना नेपाली नागरिक छन् ।

प्रहरीका अनुसार बरामद गरिएको नक्कली नेपाली रुपैयाँ नेपालमा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी प्रयोग गर्ने योजना बनाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गिरोहले सीमावर्ती क्षेत्र प्रयोग गर्दै नक्कली नोट नेपाल भित्र्याउने तयारी गरिरहेको पाइएको छ ।

छापामारीक्रममा तीन वटा मोटरसाइकल र एउटा कारसमेत बरामद गरिएको छ । सुरक्षा निकायले गिरोहका अन्य सदस्य र यसका मुख्य योजनाकार (मास्टरमाइन्ड) को खोजी तीव्र बनाएको जनाएको छ ।

प्रहरीले नक्कली नोट कारोबार राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वमाथिको गम्भीर खतरा भएकाले यस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेको छ ।

सम्बन्धित खबर