
झापा । भारतले आउँदो आर्थिक वर्ष २०२६/२७ का लागि पूँजीगत खर्च ८ दशमलव ८ प्रतिशतले बढाएर १२२ खर्ब भारु पुर्याएको छ ।
अर्थमन्त्री निर्मला सीतारमणले आउँदो आर्थिक वर्षका लागि बजेट पेस गर्दै पूँजीगत खर्च बढाएर कीर्तिमानी १२२ खर्ब पुर्याउनुभएको हो । चालू आर्थिक वर्षका लागि भारतको पूँजीगत खर्च ११२ खर्ब भारु रहेको छ ।
विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतले देशमा आर्थिक वृद्धि बढाउने र थप रोजगारी सिर्जना गर्ने लक्ष्य राख्दै कोभिड–१९ महामारीपछि पूर्वाधार खर्चमा उल्लेखनीय वृद्धि गरेको छ । भारतले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि ७ दशमलव ४ प्रतिशत हुने अनुमान गरेको छ ।
संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री निर्मला सीतारमणले सरकारले औद्योगिक विकासलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले गएको वर्षको अगस्ट १५ पछि ३५० वटा आर्थिक सुधार गरेको जानकारी दिनुभयो ।
अर्थमन्त्री सीतारमणले आउँदो आर्थिक वर्षमा बायोफार्ममा १० हजार करोड भारु लगानी गर्ने प्रस्ताव रहेको बताउनुभयो । यस्तै कृषि क्षेत्रमा ‘एआई’ अर्थात् कृत्रिम बुद्धिमत्ताको प्रयोग गर्ने, यातायात सञ्जालमा ठूलो परिवर्तन ल्याउन तीव्र गतिको ७ वटा नयाँ रेल करिडोर, खनिजजन्य उद्योगको विकासमा सहयोग पुर्याउन ‘रेअर अर्थ’ अर्थात् दुर्लभ खनिज करिडोर निर्माण गर्ने उहाँको भनाइ छ ।
अर्थमन्त्री सीतारमणले लगातार नवौँ बजेट संसदमा प्रस्तुत गर्नुभएको हो । भारतीय इतिहासमा पहिलो पटक बिदाका दिन आइतवार बजेट प्रस्तुत भएको छ ।


