२०८२ माघ १८ आइतवार , ०५:०२:०८ बजे

Sajhamanch
'

माधव नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

आइतवार, माघ १८, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत गरी ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ ।

पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले आज सरकार र प्रतिवादीको साक्षी बुझ्ने आदेश दिएको हो ।

तत्कालीन प्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको थियो । नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेको साँगामा रहेको हदबन्दी छुट जग्गालाई कानून विपरीत खरिद–बिक्री गर्न दिएको अख्तियारको आरोप छ ।

२०६६ साल माघ १८ मा मन्त्रिपरिषद् बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो । त्यसैगरी २०६६ साल चैत ६ मा पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशङ्कामा अख्तियारले अनुसन्धानलाई अघि बढाएको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको थियो ।

सम्बन्धित खबर