
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ईन्द्रमणि पराजुलीले कोशी प्रदेशमा निर्वाचन सुरक्षा ‘थ्रेट’ बढेको बताउनु भएको छ ।
कोशी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पराजुलीले निर्वाचन नचाहने तथा नयाँ र पुरानाको नाममा भइरहेको निषेधको राजनीतिले सुरक्षा थ्रेट बढाएको बताउनु भयो ।
आइतबार बिहान धनकुटा सदरमुकामको बालमन्दिरमा रहेको गोकुण्डेश्वर क्याम्पसमा आयोजित कार्यक्रम पछि कुरा गर्दै मन्त्री पराजुलीले कोशीमा निर्वाचन केन्द्रित विशेष सुरक्षा रणनीतिका साथ होसियारीपूर्वक काम भइरहेको जनाउनु भयो ।
कोशी प्रदेशमा दुई पक्षबाट निर्वाचन सुरक्षा जोखिम रहेको जनाए पनि उहाँले कुन पक्षबाट भन्ने खुलाउनु भएन । ‘त्यो प्रदेश सरकारको नोटिसमा छ, सोही अनुसार व्यवस्थापनको योजना तयार पारेर कार्यान्वयन गर्दैछौं,’ मन्त्री पराजुलीले भन्नुभयो, ‘निर्वाचन बहिष्कार गर्ने शक्तिहरु, निर्वाचन नचाहने शक्तिहरुको यस्ता काममा बढी भूमिका हुन्छ, त्यो तपाइहरु र अरु सबैलाई थाहा छ, त्यसैले निर्वाचन नचाहनेहरुबाट कोशीमा सुरक्षा थ्रेट छ ।’
मन्त्री पराजुलीले नयाँ र पुरानाका नाममा भइरहेको निषेधको राजनीतिले पनि गम्भीर सुरक्षा चुनौती निम्त्याउन सक्ने जनाउनु भयो ।
निर्वाचन लक्षित सभा, भेटघाट, घरदैलो र सामाजिक सञ्जालमा समेत नयाँ र पुरानाका नाममा गैरराजनीतिक र निषेधलाई बल पुग्ने गतिविधि भइरहेकोले त्यसले खतरा निम्तन सक्ने मन्त्री पराजुलीको भनाइ छ । ‘भदौ २३ र २४ पछिका घटनाक्रमले पनि परिस्थिती सहज छैन,’ उहाँले भन्नुभयो, ‘नयाँ र पुरानाको नाममा जुन निषेधको राजनीति चलिरहेको छ, त्यसले आन्तरिक सुरक्षालाई चुनौती थपेको छ ।’
कोशी प्रदेशमा विशेष गरी झापा निर्वाचन क्षेत्र नम्बर २ र ५ मा सुरक्षाको जोखिम विष्लेषण गरेर सोही अनुरुपको सुरक्षा व्यवस्थापन र तयारी प्रदेश सरकारले गरिरहेको जनाउनु भयो । उहाँले भन्नुभयो, ‘झापा ५ हेर्नुस्, त्यहाँ हेभिवेटहरुको प्रतिष्पर्धा छ, एमाले अध्यक्ष केपी शर्मा ओली र बालेन्द्र शाह हुनुहुन्छ, क्षेत्र नम्बर २ मा पनि पूर्वसभामुखहरु हुनुहुन्छ त्यसैले त्यहाँको सुरक्षामा कोशी प्रदेश सरकार संवेदनशील छ ।’
माघ ९ मा बसेको कोशी प्रदेश सुरक्षा समन्वय बैठक र १४ को राष्ट्रिय सुरक्षा परिषद्सँगको अन्तरक्रियामा पनि कोशी प्रदेशको निर्वाचन सुरक्षाको विषयलाई आफूले गम्भीर रुपमा राखेको उहाँले जनाउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय सुरक्षा परिषदमा पनि कोशी प्रदेशको निर्वाचन सुरक्षा सवाललाई गम्भीर रुपमा राखेको छु, केन्द्रबाट हुने सुरक्षा सहयोगका लागि गृहमन्त्रालयसँग पनि समन्वय भइरहेको छ ।’
मन्त्री पराजुलीले निर्वाचनले मात्रै अहिलेको अन्यौलताको आधिकारिक निकास दिने भन्दै निर्वाचनमा सुरक्षाको वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउनु भयो ।


